Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्नेमा मन्त्री गौतमकाे जाेड

संसदप्रति जनताको दृष्टिकोण सकारात्मक बनाउन आवश्यक

13
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसदको गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोशाकमा समेत विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

सिंहदरबारमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संसदलाई जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न सांसदहरू स्वयं मर्यादित हुनुपर्नेमा जोड दिनुभएको हो । मन्त्री गौतमले पछिल्लो समय संसदको गुणस्तर खस्किँदै गएको जनगुनासोप्रति आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेकाे बताउनुभयाे । संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउनका लागि जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्ने उहाँको तर्क छ ।

मन्त्री गौतमले प्रक्रियागत र प्राविधिक विषयहरूलाई कार्यव्यवस्था परामर्श समिति वा अन्य अनौपचारिक छलफलबाट टुङ्ग्याउन सकिने र सदनको समय जनसरोकारका विषयमा मात्र खर्चिनुपर्ने बताउनुभयो । जनताले तिरेको करबाट राज्यकोष सञ्चालन हुने र सोही कोषबाट संसदको खर्च चल्ने भएकाले सांसदहरूले प्राप्त गरेको एक मिनेटको समय पनि अर्थपूर्ण हुनुपर्ने उहाँकाे भनाइ छ।

मन्त्री गौतमले संसदप्रति जनताको दृष्टिकोण सकारात्मक बनाउन र यसको औचित्य पुष्टि गर्न सांसदहरूले आफ्ना आचरणमा सुधार ल्याउनुपर्ने बताउनुभयो । सांसद गौतमले संसदको मर्यादा कायम राख्न आफू व्यक्तिगत रूपमा शतप्रतिशत प्रयत्नशील रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभएकाे छ ।