काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्तिमा पछिल्लो समय धक्का लागेको बताउनुभएको छ ।
बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा नेकपा(एमाले) को नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजानीकीकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । केही समययताका राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक पछाडि धकेलेको स्वीकार गर्दै त्यसलाई असफल वा पराजित भएको भन्न नमिल्ने जिकिर गर्नुभयो ।
पूर्वप्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा अगाडि सारिएका सामाजिक क्षेत्रका सुधारहरूलाई समाजवादउन्मुख कदमको संज्ञा दिनुभयो । सडक बालबालिका मुक्त राष्ट्र घोषणा, सहयोगापेक्षी सडक मानवहरूको व्यवस्थापन र माग्ने प्रथाको अन्त्यलाई उहाँले सरकारको ‘जिम्मेवार’ व्यवहारको उपजका रूपमा व्याख्या गर्नुभयो । उहाँले ज्येष्ठ नागरिक भत्ता, स्वास्थ्य बीमा र बालबालिकाका लागि चलाइएको ‘खोलौँ खाता’ अभियानलाई मानवतावादी कार्यको रूपमा चर्चा गर्नुभयो । आफ्ना विकास निर्माणका काममाथि हुने आलोचनालाई लक्षित गर्दै उहाँले नागढुङ्गा क्षेत्रमा राखिएको साइनबोर्डको विवादलाई सामान्य प्राविधिक विषय भएको जिकिर गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘ हामीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य लिएका छौँ । पछिल्ला घटनाका कारण हाम्रो गन्तव्य केही पछाडि धकेलिएको छ, तर यसको अर्थ हामी असफल वा पराजित भएका होइनौँ । हामीले समाजवादको आधार निर्माण गर्ने क्रममा सामाजिक क्षेत्रमा विभिन्न काम गरेका थियौँ । सडक बालबालिकालाई उद्धार गरी उचित व्यवस्थापन गर्ने, असहाय र बेसहारा सडक मानवको संरक्षण गर्ने तथा सडकमा भिक्षा माग्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयास ग¥यौँ । हामीले जनताप्रति जिम्मेवार सरकारको अवधारणा अघि सा¥यौँ ।
शारीरिक रूपमा अशक्त, अपाङ्गता भएका व्यक्ति, असहाय, बेसहारा र ज्येष्ठ नागरिकको संरक्षणका साथै ज्येष्ठ नागरिक भत्ता, स्वास्थ्य बीमा र सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन ग¥यौँ । यी सबै काम मानवतावाद र समाजवाद उन्मुख राज्य निर्माणका प्रयास थिए । सरकारको जिम्मेवारी केवल जवाफदेहिता र हिसावकितावमा सिमित हुँदैन। जसरी आमाले आफ्ना सन्तानको हेरचाह माया र आत्मीयताका साथ गर्छिन्, त्यसरी नै सरकारले पनि आफ्ना नागरिकप्रति जिम्मेवार भएर काम गर्नुपर्छ ।
हामीले गरेका सामाजिक कार्यहरूको महत्त्व कुनै साइनबोर्ड हटाउँदैमा समाप्त हुँदैन । ती कामले समाजमा पारेको प्रभाव र तिनको इतिहासलाई मेटाउन सकिँदैन । ‘सुखी नेपाली’ बनाउने हो भने पहिले जनताका दुःख निवारण गर्नुपर्छ ।
गरिबी, अभाव र असहाय अवस्थाको अन्त्य गर्दै नागरिकको आधारभूत आवश्यकता पूरा गर्ने वातावरण बनाउनुपर्छ । पहिले दुःख निवारण, त्यसपछि सुख प्राप्ति–यही सोचका साथ हामीले सामाजिक न्याय र समृद्धिको बाटो अघि बढाएका थियौँ ।’
समृद्धिको यात्राबारे प्रस्ट पार्दै अध्यक्ष ओलीले सुखी नेपाली बनाउनका लागि पहिले दुःख निवारण गर्नुपर्ने बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्