Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन


0
Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पतन हुने दाबी गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले रास्वपा पतन हुने दाबी गर्नुभएको हो । उहाँले राप्रपालाई अबको बलियो वैकल्पिक शक्तिका रूपमा स्थापित गर्नको लागी आफूलाई बदल्नुपर्ने बताउनु भयो । उहाँले पार्टीको संगठन, कार्यशैली र सोचमा आमूल परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

जनताले राप्रपालाई ठूलो मत नदिएपनि देशमा राजनीतिक विकल्प आवश्यक पर्ने विश्वासका साथ राष्ट्रिय पार्टीका रूपमा जोगाइराखेको बताउनु भयो । उहाँले पार्टीलाई राष्ट्रिय पार्टी बन्न नदिन विभिन्न प्रयास भएको दाबी गर्दै ती सबै चुनौतीका बाबजुद राप्रपा राष्ट्रिय पार्टीको हैसियतमा कायम रहेको बताउनु भयो । आगामी दिनमा राप्रपा बलियो वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने उहाँको भनाई छ ।

उहाँले रास्वपाको पतनको प्रतीक्षा गरेर मात्रै राप्रपाको उदय नहुने पनि बताउनु भयो । पार्टीले संगठन संरचना, कार्यशैली र गतिविधिमा व्यापक सुधार गरी जनतालाई ‘राप्रपा फेरिएको र सुध्रिएको’ सन्देश दिनुपर्ने उहाँको भनाइ छ । पार्टीभित्र गुट–उपगुटको राजनीति अन्त्य गरी एकता, आपसी विश्वास र जनतासँगको सम्बन्धलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले नेताको पछि लाग्ने नभई जनतालाई साथमा लिएर पार्टीलाई बलियो बनाउन लाग्न नेता–कार्यकर्तालाई आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अब राष्ट्रिय प्रजातन्त्र पार्टीकै पालो हो, तर राष्ट्रिय स्वतन्त्र पार्टी पतन भएपछि राप्रपाको पालो आउँछ भनेर बसेर राप्रपाको पालो आउँदैन । त्यसका लागि हामीले मेहनत गर्नुपर्छ । यो राष्ट्रिय स्वतन्त्र पार्टी त पतन हुनेवाला छ नै तर त्यसपछि हामी उठ्नको लागि हामीले अहिले गरिराखेको हाम्रो क्रियाकलाप, हाम्रो तरिका, हाम्रो ढाँचामा आमूल परिवर्तन गर्नुपर्नेछ । हाम्रो संगठन संरचना, हाम्रो कार्यशैली, यसमा परिवर्तन गरेर हामी जानुपर्छ । हामीले आम जनतालाई राष्ट्रिय प्रजातन्त्र पार्टी फेरियो, राष्ट्रिय प्रजातन्त्र पार्टी सुध्रियो भन्ने सन्देश हामीले दिनुपर्नेछ । त्यस किसिमको क्रियाकलापका लागि अब हामी तयार हुनुपर्छ । कोही साथीहरु भाग्नु पर्दैन, डराउनु पर्दैन । अब हामीलाई एकता चाहिएको छ । हामी जो पार्टीमा छौँ, त्यो बीचमा आपसी प्रेम चाहिएको छ । हामीले विवाद र विभाजनको त लामो यात्रा गरिनैसक्यौँ । त्यसले पार्टीलाई कतै पु¥याउँदैन, हाम्रो विचारलाई कतै पु¥याउँदैन भन्ने कुराको उदाहरण हामी स्वयम् नै छौँ । त्यसकारण अब त्यही काम हामीले गर्नु हुँदैन । मेरो आग्रह छ, अब गुट उपगुटको कुनै नेताको पुच्छर समाएर यो पार्टीमा टिक्ने होइन, जनताको हात समाएर, जनताको हातमा हात मिलाएर यो पार्टीमा टिक्ने र यो पार्टीलाई बलियो बनाउने काममा हामी लाग्नुपर्छ ।’

उहाँले पार्टी कार्यकर्तालाई महाधिवेशनमा जुट्न पनि निर्देशन दिनुभयो । महाधिवेशन मंसिर २६, २७ र २८ गते तोकिएको समयमा नै हुने उल्लेख गर्दै उहाँले निर्वाचन तालिका अनुसार नै तल्लो तहको अधिवेशन गर्न आग्रह गर्नुभयाे ।