काठमाडाैं । घरेलु टोली मेक्सिकोले जारी फिफा विश्वकप फुटबलको समूह ‘ए’ मा आफ्नो बलियो वर्चस्व कायम राख्दै शतप्रतिशत जितका साथ नकआउट चरणमा प्रवेश गरेको छ ।
मेक्सिको सिटी स्टेडियममा बिहीबार बिहान भएको समूह चरणको अन्तिम खेलमा चेक गणतन्त्रलाई ३-० गाेलको सहज अन्तरले पराजित गर्दै मेक्सिकोले ऐतिहासिक कीर्तिमान रचेको हो । विश्वकप इतिहासमा मेक्सिकोले समूह चरणका तीन वटै खेल जितेर ९ अंक बनाएको यो पहिलो पटक हो । यसका साथै समूह चरणका कुनै पनि खेलमा गोल नखाई अर्को चरण पुगेको मेक्सिकोको यो दोस्रो कीर्तिमान हो । यसअघि सन् १९७० मा आयोजककै रूपमा मेक्सिकोले समूह चरणमा कुनै गोल खाएको थिएन ।
खेलका क्रममा अल्भारो फिडाल्गोले १८ यार्ड बाहिरबाट प्रहार गरेको उत्कृष्ट बलले टप कर्नरको दिशा लिँदा रंगशालामा उपस्थित मेक्सिकन समर्थक र खेलाडी उत्सवमा झुमेका थिए । समूह विजेता बनेको मेक्सिकोले अब अन्तिम ३२ मा खेल्ने भएकाे छ । यो समूहबाट मेक्सिको शीर्ष स्थानमा रहँदै र दक्षिण अफ्रिका दोस्रो स्थान (उपविजेता) बन्दै नकआउट चरणमा पुगिसकेका छन् ।
मेक्सिको र दक्षिण अफ्रिकामा उत्सवको माहौल रहँदा पराजित चेक गणतन्त्र र दक्षिण कोरियाको भाग्य भने अन्य समूहको नतिजामा निर्भर रहने भएकाे हाे । दक्षिण कोरियाले अब उत्कृष्ट तेस्रो हुने चार टोलीभित्र पर्दै अघिल्लो चरण पुग्ने झिनो आशा जीवितै राखेको छ ।









प्रतिक्रिया दिनुहोस्