Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


संसदमा प्रधानमन्त्री शाह र सभामुख अर्यालको कार्यशैलीप्रति अध्यक्ष राईकाे गम्भीर असन्तुष्टि

भारतकाे पटनामा बन्धक बनाइएका ९ सय नेपालीको तत्काल उद्धार गर्न सरकारसँग माग

13
Shares

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डीपी अर्यालको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष राईले यस्ताे माग गर्नुभएकाे हाे । प्रतिपक्षको आवाज नसुनी सत्तापक्ष अगाडि बढेको भन्दै संसदको ध्यानाकर्षण गराउनुभयो । प्रधानमन्त्री शाहको विवादास्पद वक्तव्य सच्याउन माग गर्दै आफूहरूले १६ दिनदेखि प्लेकार्डसहित सदनमा विरोध जनाइरहेको स्मरण गराउनुभयो । प्रधानमन्त्रीले प्रयोग गरेको ‘राष्ट्रघाती’ शब्द संसद्को अभिलेखबाट हटाउन सभामुखलाई आग्रह गरेको लामो समय भइसक्दा पनि कुनै सुनुवाइ नभएकोमा उहाँले आपत्ति प्रकट गर्नुभएकाे छ ।

अध्यक्ष राईले बजेट निर्माण र वितरणको प्रक्रियामा देखिएको प्राविधिक तथा व्यवस्थापकीय कमजोरीको पनि कडा आलोचना गर्नुभयो । रक्षा मन्त्रालयको बजेट पुस्तिका उपलब्ध नगराई छलफल सकिएकोमा प्रश्न उठाउँदै उहाँले अर्थमन्त्रीको जवाफदेहिता माग गर्नुभएकाे छ। त्यस्तै, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको बजेट विनियोजनमा पनि अङ्कगणितीय त्रुटी देखिएको उहाँको दावी छ । ५ अर्ब भन्दा बढीको बजेटमा १ अर्ब ६१ करोडको मात्र स्पष्ट विवरण देखिएको र बाँकी ४ अर्ब ३२ करोड भन्दा बढी रकमको ब्रेकडाउन अपारदर्शी रहेको उहाँले बताउनुभयो। यस्तो गम्भीर त्रुटि गर्ने छुट सरकारलाई नभएको उहाँको तर्क छ ।

अध्यक्ष राईले भारतको पटनामा ९ सय जना नेपाली दाजु-भाइ र दिदी-बहिनीहरू नेटवर्किङ व्यवसायको प्रलोभनमा परी बन्धक बनाइएको सूचना प्राप्त भएको जानकारी गराउनुभयो । उहाँले तत्काल उद्धारका लागि सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ। सोही प्रकरणमा संलग्न भएको आरोपमा सोल्टी होटलबाट पक्राउ परेका इटहरी निवासी ईश्वर ढकालमाथि कारबाही अघि बढाउन र पीडितको उद्धारमा सक्रियता देखाउन उहाँले सम्बन्धित मन्त्रालयसँग माग गर्नुभयो ।

अध्यक्ष राईले स्वदेशी श्रम शक्ति विदेश पलायन भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभएकाे छ। उहाँले सरकारलाई ठोस योजना ल्याउन सुझाव दिनुभयो । सरकारले उत्पादनमुखी क्षेत्रमा लगानी बढाएर युवाहरूलाई स्वदेशमै रोजगारीको सुनिश्चितता गर्नुपर्नेमा उहाँकाे जोड छ ।