काठमाडाैं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा नर्वेले विजयी शुरुवात गरेको छ।
अमेरिकाको बोस्टनमा बुधबार बिहान सम्पन्न भएकाे खेलमा नर्वेले इराकलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । नर्वेको जितमा स्टार फरवार्ड एर्लिङ हालान्डले दुई गोल गरेका थिए । खेलको २९औँ मिनेटमा हालान्डले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। तर इराकका कप्तान आयमन हुसेनले ३९औं मिनेटमा गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।
पहिलो हाफ सकिनुअघि ४३औँ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई पुनः अग्रता दिलाएका छन् । पहिलो हाफ नर्वेले २–१ ले आफ्नो पक्षमा समाप्त गर्यो । दोस्रो हाफमा नर्वेले थप दुई गोल गर्यो । ७१औँ मिनेटमा कप्तान मार्टिन ओडेगार्डले गोल गर्दै अग्रता ३–१ मा पुर्याएका थिए । त्यसपछि इन्जुरी समय ९२औँ मिनेटमा क्रिस्टियन थोर्स्टभेड्टले गोल गर्दै नर्वेको जित सुनिश्चित गरे।
याे जितसँगै नर्वेले समूह ‘आई’ मा महत्त्वपूर्ण तीन अङ्क जोडेको छ । समान तीन अङ्क भए पनि गोल अन्तरका आधारमा फ्रान्स दोस्रो स्थानमा रहेको छ। सन् १९९८ पछि पहिलो पटक विश्वकपमा सहभागिता जनाएको नर्वेले सुखद विजयी शुरुवात गरेको हो ।









प्रतिक्रिया दिनुहोस्