काठमाडाैं । फिफा विश्वकप फुटबलमा उरुग्वे-साउदी अरब, स्पेन- केप भर्डे र बेल्जियम-इजिप्टले बराबरी खेल्दै अंक बाँडेका छन् ।
मियामी रङ्गशालामा मंगलबार बिहान भएकाे खेलमा साउदी अरबले खेलको पहिलो हाफको ४१ औँ मिनेटमा अद्दुलेलाह अल अमिरीको गोलबाट अग्रता बनाएता पनि जोगाउन नसकेकाे हाे । उरुग्वेले दोस्रो हाफमा गोल फर्कायो । उसले खेलको ८० औँ मिनेटमा गोल गरेपछि खेल १–१ को बराबरीमा सकिएको छ । उरुग्वेका लागि म्याक्सिमिलिनो अरुजोले गोल गरेका हुन् । दुवै टोलीले एक-एक अंक बाँडेका हुन् ।
त्यस्तै, स्पेन-केप भर्डे र बेल्जियम -इजिप्टले बराबरी खेल्दै अक बाँडेका छन् । समूह ‘एच’ अन्तर्गत अमेरिकाको एटलान्टामा साेमबार राति राति भएको खेलमा सन् २०१० को विश्वविजेता स्पेनले केप भर्डेलाई खेल अवधिभर दबाब दिए पनि गोल गर्न सकेन । खेल गोलरहित बराबरीमा सकिएको हो । केप भर्डेका गोलरक्षक भोजिन्हाले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई महत्त्वपूर्ण एक अंक दिलाएका थिए ।
त्यस्तै, समूह ‘जी’को मंगलबार बिहान सम्पन्न अर्को खेलमा बेल्जियम आफ्नो पहिलो खेलमा हारबाट जोगिएको छ । बेल्जियम र इजिप्टले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । इजिप्टले १९औँ मिनेटमा इमाम आशौरको गोलमार्फत अग्रता लिएको थियो । तर दोस्रो हाफको ६६औँ मिनेटमा इजिप्टका मोहम्मद हानीको उपहार गोलबाट बेल्जियम हारबाट जोगियो ।
१-१ गोलको बराबरी भएसँगै दुवै टोलीले अंक बाँडेका छन् । मंगलबार बिहान पौने ७ बजेदेखि इरान र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुने भएकाे हाे।









प्रतिक्रिया दिनुहोस्