Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीले जमिनको स्वामित्व माग गर्दै सरकारलाई बुझाए ज्ञापनपत्र

एक हप्ताभित्र उचित निर्णय नभए पहिलेकै ठाउँमा पुनः बसोबास गर्न बाध्य हुने चेतावनी

13
Shares

काठमाडाैं । काठमाडाैं उपत्यकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले आफ्नो स्थायी पुनर्स्थापना र जमिनको स्वामित्व माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

कीर्तिपुरमा रहेको राधास्वामी सत्सङ्ग होल्डिङ सेन्टरमा राखिएका पीडितहरूले प्रधानमन्त्री, गृहमन्त्री र भूमि व्यवस्था मन्त्रीलाई सम्बोधन गर्दै ध्यानाकर्षण गराएका हुन् । उनीहरूले उचित विकल्प, कानूनी प्रक्रिया र क्षतिपूर्तिविना नै राज्यले आफूहरूलाई जबरजस्ती विस्थापित गरेको आरोप लगाएका छन् ।

सेन्टरमा आधारभूत स्वास्थ्य सेवा, औषधोपचार र पोषणयुक्त खानाको चरम अभाव रहेको उनीहरुले बताएका हुन् । सेन्टरमा पर्याप्त सुरक्षा र गोपनीयता नहुँदा महिला तथा बालबालिकाहरू चरम असुरक्षाको जोखिममा परेकाे सकेत ज्ञापनपत्रमा भनिएको छ ।

पीडितहरूले एक हप्ताभित्र भू–स्वामित्वसहितको पुनर्स्थापना र उचित व्यवस्थाबारे निर्णय नभए यसअघि हटाएकै ठाउँमा पुनः बसोवास गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् । उनीहरूलाई खानाको व्यवस्था गर्दै आएको टोली आइतबार राति हिँडेपछि साेमबार बिहान उनीहरू भोकै परेका थिए ।

बिहान भरी पानी समेत नपाएका उनीहरूले आफैँ पैसा उठाएर चिउरा र दालमोठ ल्याई भोक मेटाएका हुन् । बिहान खाना नपाएकाले बालबालिका विद्यालय जान नपाएकाे समेत उनीहरूको गुनासो छ ।

Skip This