Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


विश्वकप फुटबलमा स्कटल्यान्ड र अस्ट्रेलियाकाे विजयी शुरूवात

विश्वकप फुटबलमा टर्किए र हाइटी भने पराजित

0
Shares

काठमाडाैं । फिफा विश्वकप फुटबलमा अस्ट्रेलियाले टर्किएलाई २ गोलले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

क्यानाडाको भ्यान्कुभरमा आइतबार भएको खेलमा अस्ट्रेलियाले खेलको पहिलो हाफ र दोस्रो हाफमा एक/एक गोल गरेकाे हाे । अस्ट्रेलियाका नेस्टोरी इरान्कुन्डाले खेलको २७ औँ मिनेटमा गोल गरेका थिए। कोनर मेटकाल्फले ७५औँ मिनेटमा गोल थपेका हुन्। जितसँगै समूह ‘डी’ को अस्ट्रेलियाले महत्त्वपूर्ण तीन अंक जोडेको छ । त्यस्तै, विश्वकप फुटबलमा स्कटल्यान्डले पनि विजयी शुररुवात गरेको छ ।

त्यस्तै, बोस्टनमा आइतबारै भएकाे समूह ‘सी’को खेलमा स्कटल्यान्डले हाइटीलाई १ गोलले पराजित गरेको हो । खेलमा उसका जोन म्याकगिननले खेलको २८औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । स्कटल्यान्डले विश्वकपमा २८ वर्षपछि खेलेको हो । याे जितसँगै उसले तीन अ‌क जोडेको छ । आइतबारै बिहान भएका अन्य खेलमा ब्राजिल र मोरक्को तथा कतार र स्विट्जरल्यान्डले बराबरी खेलेका छन् । मोरक्कोसँगको खेलमा ब्राजिल स्टार खेलाडी नेयमारबिनै खेलेको थियो ।

मोरक्कोका स्माइल साइबरीले २१ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ब्राजिलका भिनिसियस जुनियरले ३२ औँ मिनेटमा गोल गर्दै खेललाई एक/एकको बराबरीमा ल्याएका थिए। त्यसपछि थप गोल हुन सकेन र दुवै टोलीले एक-एक अङ्क बाँडेका छन् । त्यस्तै, स्विट्जरल्यान्ड र कतारले पनि बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको १७औँ मिनेटमा ब्रेल एम्बोलोले स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए ।

तर खेलको इन्जुरी समयमा कतारका बोउलेम खोउखीले गोल गर्दै खेल बराबरी बनाएका हुन् । बोउलेमको गोलले कतारलाई हारबाट जोगाउनुका साथै विश्वकप इतिहासमा पहिलो अंक दिलाएको छ । विश्वकप फुटबलमा आइतबार राति नेपाली समय अनुसार १०: ४५ बजे जर्मनी र कुराकाओबीच प्रतिस्पर्धा हुने भएकाे हाे ।