२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024


पोखरा प्रिमियर लिगका लागि १९७ खेलाडी सूचीकृत


0
Shares

काठमाडौं, असोज १२ । आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन १७९ खेलाडीले नाम दर्ता गराएका छन् ।

पीपीएल आयोजक क्वीन्स इभेन्ट्स प्रालिकाअनुसार ‘क्याप्ड सिनियर’मा ३०, ‘क्याप्ड एज लेभल’मा ५७, र ‘अनक्याप्ड’मा ९२ खेलाडीले नाम दर्ता गराएका छन् ।

क्वीन्स इभेन्ट्सले पीपीएलमा सहभागी हुने खेलाडीलाई क्याप्ड सिनियर, क्याप्ड एज लेभल र अनक्याप्ड गरी तीन श्रेणीमा विभाजन गरेको थियो ।

क्याप्ड सिनियरमा नेपालको सिनियर राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका खेलाडीलाई राखिएको छ ।

क्याप्ड एज लेभलमा नेपालको उमेर समूह (यु–१५, यु–१७, यु–१९, यु–२१ र यु–२३) टोलीको प्रतिनिधित्व गरेका खेलाडी छन् ।

अनक्याप्ड श्रेणीमा नेपालको राष्ट्रिय र उमेर समूहको टोलीबाट खेलेकाबाहेकका खेलाडी छन् ।

क्याप्ड सिनियर खेलाडीको न्यूनतम् मूल्य रु ५० हजार राखिएको छ भने अधिकतम् मूल्य रु दुई २ लाख ५० हजार राखिएको छ ।

क्याप्ड एज लेभलको न्यूनतम् मूल्य रु ५० हजार र अधिकतम् मूल्य रु एक लाख ५० हजार निर्धारण गरिएको छ ।

अनक्याप्ड श्रेणीको न्यूनतम् मूल्य रु ३० हजार र अधिकतम् मूल्य रु एक लाख छ ।

यही असोज २ गतेदेखि शुक्रबार (आज)सम्म खेलाडीले आफ्नो नाम दर्ता गराएका हुन् ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आयोजना हुने पीपीएलमा सहभागी हुने ६ टोली र ६ ‘मार्की प्लेयर’ बिहीबार घोषणा गरिएको थियो ।

प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स्, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौं रोयल्सले खेल्नेछन् ।

चितवन राइनोजको टोली स्वामित्व युवा व्यवसायी राहुल महरासहितको टोलीले गरेको छ । मार्की प्लेयर राष्ट्रिय टोलीका कप्तान पारस खड्का छनोट भएका छन् ।

त्यसैगरी, विराटनगर टाइटन्स् टोली स्वामित्व पूर्वक्रिकेटर तथा व्यवसायी पारस लुनियासहितको टोली र मार्की प्लेयर सन्दीप लामिछाने छन् ।

बुटवल ब्लास्टर्सको टोली स्वामित्व रामबहादुर विष्टसहितको व्यवसायीको युवा टोली रहेको छ भने मार्की प्लेयर सोमपाल कामी छन् ।

पोखरा पल्टनको टोली स्वामित्व व्यवसायी विनायक पोखरेलसहितको टोली रहेको छ भने मार्की प्लेयर शरद भेषावकर छन् ।

एक्पर्ट धनगढी ब्लुजको टोली स्वामित्व व्यवसायी सन्जीव शर्मा र मार्की प्लेयर दीपेन्द्रसिंह ऐरी छन् ।

हुलास काठमाडौं रोयल्सको टोली स्वामित्व राज्यलक्ष्मी गोल्छासहितको टोली र मार्की प्लेयर ज्ञानेन्द्र मल्ल छन् । रासस