Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


भन्सार दर हेरफेर र दस्तावेजबाट पाना गायब पारिएको भन्ने आरोपमा कुनै सत्यता छैन: अर्थमन्त्री वाग्ले

भन्सार दरमा कुनै नीतिगत चलखेल नभएको जिकिर

26
Shares

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भन्सार दर हेरफेर र दस्तावेजबाट पानाहरू गायब पारिएको भन्ने आरोपमा कुनै सत्यता नरहेको दावी गर्नुभएकाे छ।

सार्वजनिक लेखा समितिको बैठकमा बुधबार बोल्दै अर्थमन्त्री वाग्लेले यस्ताे दावी गर्नुभएकाे हाे । उहाँले यसलाई भ्रामक र अतिरञ्जित भन्दै चियाको कपमा तुफान ल्याउन खोजिएको टिप्पणी गर्नुभएको छ । भन्सार दरमा कुनै नीतिगत चलखेल नभएको र प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद बनाइएको जिकिर समेत गर्नुभयाे। बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले गत वर्ष नेकपा एमाले र नेपाली कांग्रेसको सरकारले सच्याएका केही दरहरूलाई नै यस पटक स्पष्ट पारिएको समेत बताउनुभएको छ ।

विद्युतीय गाडी (ईभी) को हकमा ५० लाख रुपैयाँ मुनिका गाडीको मूल्य नबढोस् भन्ने सरकारको नीति रहेको उहाँले उल्लेख गर्नुभयो । भन्सार बिन्दुमा २० लाख रुपैयाँसम्म मूल्य भएका गाडीहरू, जसको बजार मूल्य ५० लाख भन्दा कम हुने र तिनलाई सडक निर्माण दस्तुरमा ५ प्रतिशतको सट्टा २ दशमलव ५ प्रतिशत मात्र लगाउने निर्णय भएको अर्थमन्त्री वाग्लेकाे दावी छ।

कानून मन्त्रालयसम्म पुग्दा यो बुँदा छुट्न पुगेकाले त्यसलाई पछि संशोधनमार्फत समावेश गरिएको उहाँको तर्क थियाे । साथै, यहि जेठ १५ अघि नै भन्सार प्रक्रिया पूरा गरी अन्तः शुल्क तिरिसकेका गाडीहरूको हकमा थप दस्तुर नलाग्ने गरी स्पष्ट पारिएको उहाँले जानकारी गराउनुभएकाे छ।