Logo २५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026


रुकुम पश्चिममा ब्राउन सुगरसहित २ जना पक्राउ


143
Shares

रुकुम पश्चिम ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले ब्राउन सुगरसहित २ युवकलाई पक्राउ गरेको छ । आइतबार साँझ ७ बजेतिर प्रहरीले मुसिकोट नगरपालिका ५ शेरिगाउँबाट ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर २ का हिमाल घर्ती र सोही ठाउँका २८ वर्षीय राज बुढा रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार उनीहरूको साथबाट प्लास्टिक सहित १३.२९ ग्राम ब्राउन सुगर बरामद गरिएको छ । खलङ्गाको पातुखोलाबाट रुकुम पूर्व तर्फ जाँदै गरेको हिमाल घर्तीले चलाएको रा ७ प ९६१६ नम्बर को मोटरसाइकललाई शङ्काको आधारमा चेक गर्दै दुवै जनाको साथबाट उक्त ब्राउन सुगर बरामद गरिएको डिएसपी पौडेलले जानकारी गराएका छन् । चालक हिमालको साथबाट चस्माको खोलमा प्लास्टिकले बेरी राखेको अवस्थामा १२ पुडिया ११.२६ ग्राम र पछाडि सवार राजको

पाइन्टको बायाँ गोजीमा प्लास्टिकमा बेरी राखेको २ पुडिया २.०३ ग्राम गरी कुल प्लास्टिक सहितको १३.२९ ग्राम ब्राउन सुगर फेला परेको उनको भनाई छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयबाट प्रहरी हवलदार गोवर्द्धन खत्रीको कमान्डमा खटिएको ५ जनाको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

रुकुम पश्चिम प्रहरीले पछिल्लो समय लागु औषधमा कडाइ गरिरहेको छ । केही दिन अघि मात्र आठबिसकोटबाट ठुलो परिमाणमा अफिम सहित ४ जनालाई पक्राउ गरेको थियो ।