काठमाडाैं । थाइल्याण्डका लागि नेपाली दूतावासले विभिन्न प्रलोभनमा परी कानूनी आधारबिना कम्बोडियामा लुकिछिपी बस्ने नेपाली नागरिकलाई नेपाल फर्किन अनुरोध गरेको छ ।
दूतावासले एक सूचना जारी गर्दै उनीहरुलाई यहि जेठ २९ गते भित्रमा नेपालमा फर्किन अनुरोध गरेको हाे । उनीहरुले कम्बोडियाको नयाँ कानूनी व्यवस्था अनुसार तत्काल पक्राउ परी कठिन कानूनी सजाय व्यहोर्नुपर्ने अवस्था रहेको भन्दै दूतावासले यस्तो अनुराेध गरेकाे छ ।
दूतावासले विभिन्न उद्देश्यले कम्बोडिया पुगी आफ्नो भिसाको अवधि समाप्त भएपछि पनि भिसा नवीकरण नगरी बसिरहेका ६ सय २ जना नेपाली नागरिकका लागि कम्बोडिया सरकारबाट भिसा शुल्क तथा जरिवाना रकम मिनाहा गराई नेपाल फर्कन सहजीकरण गरिएको जनाएकाे छ । तर इमेल, फोन र ह्वाट्सएप मार्फत सम्पर्क गर्दा ती नेपाली नागरिकले नेपाल फर्किन तदारुकता नदेखाएको पाइएको दूतावासले जनाएको हाे ।
तोकिएका समयमा आफ्नो देश नफर्कने विदेशी नागरिकउपर कम्बोडिया सरकारले नयाँ कानून अनुसार अनुसन्धान गरी कसुरको प्रकृति अनुसार ५ लाख अमेरिकी डलरसम्मको जरिवानाका साथै आजीवन काराबाससम्मको सजाय हुने व्यवस्था गरेको पनि दूतावासले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्