Logo २२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026


३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने

उत्पादन क्षमता बढाउने योजना पर्याप्त नहुने तर्क

0
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले ऊर्जा क्षेत्रका लागि ल्याइएको बजेटले आशा जगाए पनि ३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक रहेको बताउनुभएको छ ।

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । ३० हजार मेगावाट विद्युत उत्पादनका लागि आवश्यक जनशक्ति, निर्माण सामग्री, निर्माण व्यवसायी, परामर्शदाता, मेसिनरी उपकरण, स्पेयर पाट्र्स तथा मर्मत–सम्भार सेवा सम्बन्धी विस्तृत गुरुयोजना तयार गर्नुपर्ने बताउनुभयो । उहाँले पाँच वर्षमा १५ हजार मेगावाट र १० वर्षमा ३० हजार मेगावाट उत्पादन गर्ने लक्ष्य हासिल गर्न केवल उत्पादन क्षमता बढाउने योजना पर्याप्त नहुने भएकाे छ।

सांसद न्यौपानेले ऊर्जा क्षेत्रमा अहिलेसम्मकै ठूलो, करिब ८७ अर्ब रुपैयाँको बजेट विनियोजन हुनु तथा एक वर्षभित्र ५ हजार ५ सय ३५ मेगावाट जडित विद्युत क्षमता पुर्‍याउने लक्ष्य निर्धारण हुनु सकारात्मक पक्ष भएको बताउनुभयो । उहाँले ग्रीन इनर्जी बन्ड, डायास्पोरा बन्ड, डाटा सेन्टर, एआई कम्प्युटिङ तथा डिजिटल उद्योगसँग ऊर्जा क्षेत्रलाई जोड्ने प्रयासलाई पनि बजेटको नवीन पक्षका रुपमा लिनुभएकाे छ। जसले ऊर्जा क्षेत्रलाई केवल उत्पादनको विषयमा सीमित नराखी आर्थिक रूपान्तरणको आधारका रूपमा स्थापित गर्ने प्रयास गरेको बताउनुभयाे।

सा‌सद न्यौपानेले तर बजेटका लक्ष्य कार्यान्वयनका लागि राजनीतिक नेतृत्व, प्रशासनिक संयन्त्र र प्राविधिक जनशक्तिबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो ।