एजेन्सी । म्यानमारमा विद्रोही समुहको नियन्त्रणमा रहेको एउटा गाउँमा भएको भयानक विष्फोटमा परी कम्तीमा ५५ जनाको मृत्यु भएको छ ।
विष्फोटमा परी दर्जनौं मानिसहरु घाइते भएका हुन् । चीनसँग सीमा जोडिएको साङ राज्यको नामखाम टाउनसिपमा पर्ने काउङ ट्याट गाउँमा यो दुर्घटना भएको थियाे । विद्रोहीहरूको नियन्त्रणमा रहेको सो क्षेत्रमा भएको विष्फोटमा २५ महिला र ३० पुरुषको ज्यान गएको स्थानीय स्रोतहरूले जनाएका छन् । विष्फोट लगतै गाउँमा धुवाँको ठूलो मुस्लो देखिएको थियो भने यसको धक्काले आसपासका भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन् ।
विष्फोट भएको स्थानमा ठूलो खाल्डो बनेको छ र रुखहरू समेत जलेर नष्ट भएका छन् । सो क्षेत्रमा नियन्त्रण जमाएर सरकारी सेना विरुद्ध लडिरहेको विद्रोही समूह ‘ताआङ नेसनल लिबरेसन आर्मी’ ले खानी उत्खननका लागि भण्डारण गरेर राखिएको विष्फोटक पदार्थ अचानक पड्किएर दुर्घटना भएको जनाएकाे हो ।
घटनाको आधिकारिक अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्