Logo १८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026


प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्तिमा सीमाविद् र विज्ञको गम्भीर आपत्ति

संवेदनशील विषयमा अनावश्यक रूपमा भ्रम सिर्जना गरेको निष्कर्ष

39
Shares

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको नेपाल र भारतबीचको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर सीमाविद् र विज्ञहरूले गम्भीर आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री शाहले प्रतिनिधिसभाकाे आइतबार बसेकाे बैठकमा नेपालले पनि भारतको सीमा मिचेको भनी धारणा दिएपछि सीमाविद्हरूले औपचारिक रूपमै खेद प्रकट गरेका हुन् । एक विज्ञप्ति जारी गर्दै सीमाविद् बुद्धिनारायण श्रेष्ठ, प्राडा. पीताम्बर शर्मा, प्रा.डा. नरेन्द्र खनाल, डा. जगत भुसाल, प्रभाकर शर्मा र डा. द्वारिकानाथ ढुङ्गेलले प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति आश्चर्य व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहको अभिव्यक्तिले राष्ट्रियता र सीमाको संवेदनशील विषयमा अनावश्यक भ्रम सिर्जना गरेको ठहर गर्दै उनीहरुले प्रधानमन्त्री शाहको भनाइलाई आधारहीन र प्रमाणविहीन भएकाे भन्दै आपत्ति जनाएका हुन् । जारी विज्ञप्तिमा नेपाल–भारत संयुक्त सीमा आयोगले ९८ प्रतिशत काम सम्पन्न गरिसक्दा पनि कतैबाट नेपालले अतिक्रमण गरेको निष्कर्ष ननिस्किएको उनीहरुकाे तर्क छ ।

प्रधानमन्त्री शाहको अभिव्यक्तिका कारण आम नागरिकमा भ्रम सिर्जना भएको भन्दै विज्ञहरूले तीन बुँदे माग अघि सारेका छन् । प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्तिबारे तत्काल सार्वजनिक रूपमा स्पष्टीकरण दिनुपर्ने, अभिव्यक्तिप्रति क्षमायाचना गर्नुपर्ने र संसदीय रेकर्डबाट प्रधानमन्त्रीको अभिव्यक्ति हटाउनुपर्ने उनीहरुको माग छ ।