एजेन्सी। सयुक्त राष्ट्रसंघले आगामी ५ वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको छ ।
राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु निकायले सन् २०२६ देखि २०३० सम्म विश्वव्यापी औसत तापक्रम अहिलेको रेकर्डस्तरमै वा त्यसको नजिक रहने प्रबल सम्भावना रहेको बताएको समाचार संस्था एएफपीले जनाएको हाे। विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ)ले सन् २०२६–२०३० को पाँच वर्षे औसत तापक्रम सन् १८५०–१९०० को पूर्वऔद्योगिक औसतभन्दा १ दशमलव ५ डिग्री सेल्सियस भन्दा माथि पुग्ने सम्भावना ७५ प्रतिशत रहेको बताएकाे छ । जसले विश्व जलवायु संकट अझ गहिरिँदै गएको संकेत गरेको संगठनको निष्कर्ष छ ।
अहिलेसम्म अभिलेख गरिएका सबै भन्दा तातो ११ वर्ष सन् २०१५ यता मात्रै देखिएका छन् । डब्ल्यूएमओले यो क्रम अझै रहने अनुमान गर्दै सन् २०३१ अगाडि नै नयाँ ‘सबै भन्दा तातो वर्ष’ घोषणा गर्नुपर्ने अवस्था आउन सक्ने जनाएको हाे । यो प्रतिवेदन सार्वजनिक भइरहँदा पश्चिमी युरोप पनि असामान्य गर्मीको चपेटामा परेको छ ।
बेलायत र फ्रान्समा मे महिनाकै तापक्रम रेकर्डहरू तोडिएका छन् भने पश्चिमी युरोपका विभिन्न क्षेत्र ‘तातो गुम्बज’ भनिने उच्च तापीय प्रणालीको प्रभावमा परेका हुन् । डब्ल्यूएमओले सन् २०२६ र २०३० बीचको कम्तिमा एक वर्षले सन् २०२४ लाई उछिन्दै इतिहासकै सबै भन्दा तातो वर्ष बन्ने सम्भावना ८६ प्रतिशत रहेको जनाएकाे छ । यसबीच जलवायु चक्रसँग जोडिएको ‘एल निनो’ प्रभावले तापक्रम थप बढ्न सक्ने अनुमान गरिएकाे छ।
प्रतिवेदनले सन् २०२६ देखि २०३० सम्म मेदेखि सेप्टेम्बरसम्मको वर्षा ढाँचामा पनि ठूलो क्षेत्रीय अन्तर देखिन सक्ने जनाएको हाे।साेही अनुसार साहेल क्षेत्र, उत्तरी युरोप, अलास्का र साइबेरियामा सामान्य भन्दा धेरै वर्षा हुने संकेत देखिएको छ । अमेजन क्षेत्रमा असामान्य सुक्खापन कायम रहने पूर्वानुमान गरिएकाे छ ।










प्रतिक्रिया दिनुहोस्