Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


सुख्खा पहिरोको कारण कर्णाली करिडोर अन्तर्गत सर्केगार्डको खच्चामा सडक अवरूद्ध

यातायातका साधन पनि खच्चामै अलपत्र

26
Shares

काठमाडाैं । कर्णाली करिडोरको हुम्ला खण्ड अन्तर्गत सर्केगार्ड गाउँपालिका-१ को खच्चामा सडक अवरुद्ध भएको छ ।

सडककाे माथिबाट बुधबार आएको सुख्खा पहिरोको कारण सडक अवरुद्ध हुँदा यातायात सेवा बन्द भएको हो । माथिबाट खसेको सुख्खा पहिरोको कारण खच्चा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ । दश मिटर माथिबाट आएको सुख्खा पहिरोले सडक पुरेको तथा सो पुरेको माटो र ढुङ्गा पन्छाउने कार्य हुन नसकेको कारण यतिबेलासम्म सडक अवरुद्ध रहेको हो ।

पहिरो खसेको केही समयपछि उपकरण ल्याउँदा त्यसले पहिरो पन्छाउन नसकेको कारण अहिले ठूला उपकरणको खोजी कार्य भइरहेको छ । उपकरण प्राप्त भएपछि सख्खा पहिरो पन्छाएर सडक खोलिने जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएकाे हाे ।

सडक बन्द हुँदा यसबाट माथिल्लो हुम्लाका पाँच गाउँपालिका आउने यातायातका साधन खच्चामा रोकिएका छन । यातायातका साधन पनि खच्चा र सर्केगार्डमा रोकिएका हुन् । पटक-पटक उक्त स्थानमा सुख्खा पहिरो खस्दै आएको छ ।