Logo १३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026


आगामी आर्थिक वर्षको बजेट लेखन कार्य अन्तिम चरणमा पुग्याे

जेठ १५ गते स‌घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वाग्लेले आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने

13
Shares

काठमाडाैं । सरोकारवाला निकायको सुझावलाई समेत समेटेर अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

संघीय संसद्का दुवै सदनमा सांसदहरूले दिएका सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनावमा गरेको वाचापत्र र सरकारको सुशासनको मार्गचित्र लगायतका विषयलाई केन्द्रमा राखेर बजेट लेखन कार्य भइरहेको हो । यहि जेठ १५ गते गणतन्त्र दिवसको दिन स‌घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुनेछ । नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते नै बजेट प्रस्तुत हुँदै आएको छ ।

पछिल्ला केही दिनदेखि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहानदेखि मध्यरातसम्म बजेट लेखनलाई अन्तिम रूप दिन लागिपरेको उहाँका स्वकीय सचिव नवीन ढुंगानाले जानकारी दिनुभयो । सङ्घीय संसद्ले सांसदहरूले विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त माथिको छलफलमा क्रममा दिएका सुझावलाई पनि लिपिबद्ध गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयलाई उपलब्ध गराएको छ ।

अर्थमन्त्री वाग्लेले पूर्वअर्थमन्त्री, अर्थविद्हरू, विभिन्न सङ्घ(महासङ्घका प्रतिनिधिसँग पनि बजेटका बारेमा छलफल गरिसक्नुभएको छ । कानूनी सुधार, संस्थागत उत्तरदायित्व, समय सीमा, डिजिटल ट्र्याकिङ, प्रत्यक्ष अनुगमन र परिणाम मापनलाई राज्य सञ्चालनको केन्द्रमा राखिएको अर्थमन्त्री वाग्लेलेले बताउँदै आउनुभएको छ। करिब दुई तिहाइ मत प्राप्त सरकारले प्रस्तुत गर्न लागेको बजेटलाई अत्यन्तै महत्त्वका साथ हेरिएको छ ।

सिंहदरबारको नवनिर्मित सङ्घीय संसद् भवनमा अर्थमन्त्री वाग्लेले बजेट प्रस्तुत गर्नुहुने भएकाे हाे । संसद् सचिवालयले बजेट प्रस्तुत गरिने भवनको निर्माण सम्पन्न भएको समेत जनाएकाे छ ।