Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


उमाशंकर अरगरियाले छाडे एमाले


2.1k
Shares

काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्यका पूर्वप्रत्याशी उमाशंकर अरगरियाले पार्टी परित्याग गरेका छन् ।

उनले आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।

अरगरियाले एमालेमा प्रवेश गरेको लामो समय बितिसक्दा पनि आफू र आफूसँग आएका नेताकार्यकर्ताको समायोजन हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।

उनले जारी गरेको वक्तव्यमा भनेका छन्, ‘एमालेमा प्रवेश गरेको निकै वर्ष हुन लाग्दा पनि आजसम्म हामीसँग आएका साथीहरूको समायोजन हुन सकेको छैन । आजसम्म मसँग आएका साथीहरू कमिटीविहीन छन् ।’

उनले पार्टीभित्र संगठन शुद्धीकरण हुन नसकेको आरोप समेत लगाएका छन् । पार्टीका आधिकारिक उम्मेदवारलाई पटकपटक हराउने व्यक्तिहरूलाई कारबाही गर्नुको सट्टा पुरस्कृत गरिएको प्रवृत्तिले आफू निराश बनेको उनको भनाइ छ ।

अरगरियाले भनेका छन्, ‘पटकपटक जिल्लाको नेतृत्वबाट अपमानित हुने, लगनशील तथा इमान्दार कार्यकर्ताहरू अपहेलित हुने र पार्टीविरुद्ध लाग्नेहरू नै सम्मानित हुने प्रवृत्तिले आजित भएको छु ।’ उनले यी विषयमा पटकपटक पार्टी केन्द्रलाई जानकारी गराउँदा पनि कुनै पहल नभएको गुनासो गरेका छन् ।

अरगरिया २०७९ भदौ ३० गते लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । उनी धनुषा–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका प्रत्याशीसमेत बनेका थिए ।