Logo ९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026


नेतृत्व परिवर्तनको हल्ला निराधार, अध्यक्षकै कमान्डमा पार्टी अघि बढ्छ: उपमहासचिव भट्ट


0
Shares

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले पार्टीभित्र नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

शनिवार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टले यस्तो बताएका हुन् ।

बैठकमा भएका छलफलका विषयमा जानकारी दिँदै उपमहासचिव भट्टले बाहिर आएका नेतृत्व परिवर्तन र राजीनामाका कुराहरूलाई ‘अतिरञ्जित’ संज्ञा दिए । शनिवारको बैठकमा महासचिव, तीनजना उपमहासचिव र पाँच जना सचिवहरूले पार्टीको आन्तरिक अवस्था र आफ्ना अनुभवहरूका बारेमा धारणा राखेका थिए ।

बाँकी रहेका चार जना सचिवहरूले आइतबार बिहान साढे ११ बजे बस्ने बैठकमा आफ्नो प्रस्तुति दिने कार्यक्रम छ । उपमहासचिव भट्टकाअनुसार बैठकका लागि ११ वटा कार्यसूची एजेण्डाप्रस्तावित छन् ।

जसमा कार्यविभाजन, विभिन्न कार्यदल गठन र समसामयिक राजनीतिक प्रस्तावहरू समेटिएका छन् । आइतबार सचिवहरूको भनाइ सकिएपछि अध्यक्ष ओलीले बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै निर्देशनात्मक मन्तव्य राख्नेछन् । पार्टीको आन्तरिक अनुशासन र पद्धतिको चर्चा गर्दै भट्टले बैठकमा आफ्ना कुराहरू स्पष्ट र खुल्ला रूपमा राख्ने वातावरण रहेको बताए ।

उनले भने ‘पार्टीभित्र नेतृत्वको कमी–कमजोरीका विषयमा समीक्षा हुनु स्वाभाविक हो, तर अहिले नेतृत्व परिवर्तनको कुरा कसैले उठाएको छैन । अध्यक्षकै नेतृत्वमा विद्यमान समस्याहरूको समाधान गर्दै उहाँकै कमान्डमा पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्छ भन्ने नै सबैको साझा निष्कर्ष छ । पार्टीभित्रका कमी–कमजोरीलाई सच्याएर एकमना एकताका साथ अगाडि बढ्नुपर्छ । देशको वर्तमान संकटविरुद्ध पार्टी एकताबद्ध हुनुपर्ने र तल्लो तहका कार्यकर्तामा देखिएको उदासीनतालाई ऊर्जामा बदल्नुपर्नेमा सबै नेताहरूको एकरूपता रहेको छ ।’

अध्यक्ष ओलीले बैठकमा सबै नेताहरूलाई आफ्ना धारणा स्पष्टसँग राख्न प्रोत्साहित गर्नुभएको र बैठक सकारात्मक दिशामा अघि बढिरहेको भट्टले जानकारी दिए ।