Logo ८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026


अमेरिका र क्युबाबीचको कूटनीतिक तनाव चरम उत्कर्षमा पुग्याे

क्युबा अमेरिकाको राष्ट्रिय सुरक्षा खतरा बनेको अमेरिकी विदेशमन्त्री रूबियोको दावी

0
Shares

एजेन्सी । अमेरिका र क्युबाबीचको कूटनीतिक तनाव चरम उत्कर्षमा पुगेको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबा अमेरिकाको “राष्ट्रिय सुरक्षा खतरा“ बनेको र दुई देशबीच शान्तिपूर्ण सम्झौता हुने सम्भावना न्यून रहेको बताउनुभएको हाे । अमेरिकाले क्युबाका ९४ वर्षीय पूर्वराष्ट्रपति राउल क्यास्ट्रोविरुद्ध सन् १९९६ मा दुई वटा अमेरिकी विमान खसालेर आफ्ना नागरिकको हत्या गरेको अभियोग दर्ता गरेलगत्तै विदेशमन्त्री रुबियोको यस्ताे अभिव्यक्ति आएको छ।

विमान दुर्घटनाको उक्त घटनामा तीन अमेरिकी नागरिकसहित चार जनाको मृत्यु भएको थियो । विदेशमन्त्री रुबियोले अमेरिकाको प्राथमिकता कूटनीतिक समाधान भए तापनि राष्ट्रपति डोनाल्ड ट्रम्पसँग देशको रक्षाका लागि आवश्यक कदम चाल्ने अधिकार र दायित्व रहेको चेतावनी दिनुभएकाे छ। यसको प्रतिवाद गर्दै क्युबाका परराष्ट्रमन्त्री ब्रुनो रोद्रिगेजले अमेरिकी दाबीलाई झुट भएकाे भन्दै क्युबाले अमेरिकाका लागि कहिल्यै खतरा पैदा नगरेको स्पष्ट पार्नुभयो ।

यसैबीच, क्युबाका पुराना सहयोगी राष्ट्रहरू चीन र रुसले पनि अमेरिकी कदमको कडा शब्दमा निन्दा गरेका छन् । चिनियाँ परराष्ट्र मन्त्रालयले अमेरिकालाई क्युबाविरुद्ध धम्की र जबरजस्ती गर्ने नीति बन्द गर्न आग्रह गरेको हाे । रुसले पनि क्युबामाथि अमेरिकी दबाब हिंसाको सीमासम्म पुगेको भन्दै पूर्वराष्ट्रपति क्यास्ट्रोमाथि लगाइएको मुद्दा कुनै पनि हालतमा स्वीकार्य नहुने जनाएकाे छ ।

विमान दुर्घटनाको तीन दशक पुरानो घटनालाई लिएर शुरु भएको यो कानूनी युद्धले अहिले महाशक्ति राष्ट्रहरूबीच नयाँ भूराजनीतिक तनाव सिर्जना गरिरहेको छ ।