Logo ८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026


काभा महिला भलिबल च्याम्पियनमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

घरेलु कोर्टमै ट्रफी भित्र्याउने नेपालको लक्ष्य

0
Shares

काठमाडाैं । काठमाडाैंमा शुक्रबारदेखि ‘काभा महिला भलिबल च्याम्पियनसिप २०२६’ शुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेल त्रिपुरेश्वरमा रहेको कभर्ड हलमा शुक्रबार बिहान ११ बजे इरान र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएकाे हाे ।औपचारिक उद्घाटन शुक्रबार दिउँसो २ बजे आयोजना गरिने आयोजक नेपाल भलिबल संघले जनाएको छ । त्यसपछि शुक्रबार दिउँसो साढे ३ बजे नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएकाे हाे ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, किर्गिस्तान र मालदिभ्स रहेका छन् । समूह ‘बी’ मा इरान, काजकिस्तान, श्रीलङ्का र बङ्गलादेश रहेका छन् । एफआईबीबीको आधिकारिक वरीयतामा समावेश प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय र्‍याङ्किङमा सुधार गर्ने अवसर दिने भएकाे हाे ।

काभा च्याम्पियनसिपमा नेपाल निरुता ठगुन्नाको कप्तानीमा मैदान उत्रिने भएकाे छ । १४ सदस्यीय टोलीमा ६ युवा खेलाडीले पहिलो पटक स्थान बनाएका छन् । रिमा कुँवरले राष्ट्रिय टोलीमा पुनरागमन गरेकी छन् । त्यस्तै, टोली उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका हुन् ।

सन् २०१९ र २०२२ को उपाधि विजेता नेपाललाई तेस्रो पटक उपाधि जित्ने अवसर छ । घरेलु कोर्टमै ट्रफी भित्र्याउने नेपालकाे लक्ष्य रहेकाे हाे ।