Logo ८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026


साफ महिला च्याम्पियनशिप खेल्न भारत जाने नेपाली टोलीको बिदाई


0
Shares

काठमाडाैं । साफ महिला च्याम्पियनशिप खेल्न भारत जाने नेपाली राष्ट्रिय टोलीको बिदाई भएको छ ।

सिंहदरबारमा बिहीबार एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले टोलीलाई बिदाई गरेका हुन् । बिदाई कार्यक्रममा मन्त्री पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभएकाे छ। उहाँले खेलाडीहरूको मनोबल उच्च बनाउन सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो ।

मन्त्री पोखरेलले नेपाली महिला फुटबल टोलीले पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा गरेको प्रदर्शनको प्रशंसा गर्नुभयो । उपलब्ध सीमित स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै खेल क्षेत्रको विकास र खेलाडीको वृत्तिविकासमा सरकार सधैँ प्रयत्नशील रहने उहाँको भनाइ छ । यहि जेठ ११ गतेदेखि भारतको गोवामा शुरू हुने साफ महिला च्याम्पियनशिपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै भूटान र श्रीलङ्का छन् । समूह ‘बी’ मा साविक विजेता बङ्गलादेश, भारत र माल्दिभ्स रहेका हुन् ।

नेपालले समूह चरणको पहिलो खेलमा जेठ ११ गते भूटानसँग र दोस्रो अन्तिम खेलमा जेठ १७ गते श्रीलङ्कासँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल जेठ २३ गते हुने भएकाे हाे । प्रतियोगिताका लागि गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा नेपाली टोली घोषणा गरिएकाे एन्फाले जनाएकाे छ ।