Logo ६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026


काफल पोखिएको घटनापछि पीडित महिलालाई १० हजार क्षतिपूर्ति, नगर प्रहरीमाथि कारबाही


0
Shares

सुर्खेत । वीरेन्द्रनगरमा काफल बिक्री गर्दै हिँडेकी एक महिलाको काफल सडकमा पोखिएर नष्ट भएको घटनापछि नगरपालिकाले उनलाई १० हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गरेको छ।

कालिकोटको महाबै गाउँपालिका–४ निवासी धर्मिला अधिकारी चौलागाईं डालोमा काफल बोकेर वीरेन्द्रनगरको सिटी बसपार्क आसपास बिक्री गर्दै हिँडिरहेकी थिइन्। सोही क्रममा नगर प्रहरीसँग भएको विवादका बीच उनको टाउकोमा रहेको डोको झकझकाउँदा करिब १५ केजी काफल भुइँमा पोखिएर नष्ट भएको थियो।

प्रति किलो ५०० रुपैयाँका दरले करिब ७ हजार ५०० रुपैयाँ बराबरको काफल नोक्सान भएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो। घटनापछि वीरेन्द्रनगर नगरपालिकाले पीडित महिलालाई सम्पर्क गरी राहतस्वरूप १० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको जनाएको छ।

नगरपालिकाले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै महिलामाथि दुर्व्यवहार गरेको आरोप लागेका नगर प्रहरीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।

पीडित धर्मिला अधिकारी चौलागाईंले विगत चार–पाँच वर्षदेखि फलफूल बेचेरै परिवारको जीविकोपार्जन गर्दै आएको बताइन्। आफूले कुनै निवेदनसमेत नदिँदा नगरपालिकाले बोलाएर क्षतिपूर्ति दिएकोमा उनले सन्तोष व्यक्त गरिन्।

‘पढेलेखेको छैन, जागिर छैन। यसरी फलफूल नबेचे कसरी छोराछोरी पाल्ने ? अहिले क्षतिपूर्ति पाएपछि केही राहत महसुस भएको छ,’ उनले भनिन्।

वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालले मुख्य बजार क्षेत्रका भीडभाडयुक्त स्थानमा सडक व्यापार गर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले सुरक्षित स्थानमा व्यापार गर्न आग्रह गरिएको बताइन्।

‘उहाँले ७ हजार ५०० रुपैयाँ बराबरको क्षतिको कुरा गर्नुभएको थियो। नगरपालिकाले राहतस्वरूप १० हजार रुपैयाँ उपलब्ध गराएको छ,’ नगरप्रमुख ढकालले भनिन्।

नगरपालिकाका अनुसार बसपार्क क्षेत्रमा सवारीसाधनको अत्यधिक चाप रहेकाले स्थान परिवर्तन गर्न अनुरोध गरिएको थियो। सोही क्रममा भएको तानातानमा काफल पोखिएको जनाइएको छ।