काठमाडाैं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदा बस्नुभएको छ ।
प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नियुक्तिसँगै वरिष्ठतम न्यायाधीश मल्ल बुधबारदेखि बिदामा बस्नुभएको हो । सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले न्यायाधीश मल्ल २० दिन बिदामा बसेको जानकारी दिनुभयो ।
तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले गत चैत १८ गतेदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । तर गत वैशाख २४ गते बसेको संवैधानिक परिषद्ले डा. शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश गरेपछि वरिष्ठतम न्यायाधीश मल्ल असन्तुष्ट हुनुभएकाे हाे ।
नवनियुक्त प्रधानन्यायाधीश शर्माले म्गलबार राति पदबहाली गर्नुभएको हो । संसदीय सुनुवाइ समितिले फास्ट ट्र्याकमा सुनुवाइ गरेसँगै उहाँको नियुक्ति र पदबहाली समेत एकै दिनमा भएको थियाे ।










प्रतिक्रिया दिनुहोस्