Logo ६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026


रूसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी जिनपिङबीच बेइजिङमा विशेष भेटवार्ता

दुई देशबीचको सम्बन्ध ‘अभूतपूर्व उच्च स्तर’ मा पुगेको राष्ट्रपति पुटिनकाे प्रतिक्रिया

0
Shares

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच बुधबार बेइजिङमा भेटवार्ता भएको छ ।

चिनियाँ समकक्षी जिनपिङले ग्रेट हल अफ द पिपलमा एक समारोहका साथ रूसी राष्ट्रपति पुटिनलाई स्वागत गर्नुभएकाे हाे। बेइजिङमा भएको साेही भेटवार्तामा राष्ट्रपति पुटिनले चिनियाँ समकक्षी जिनपिङलाई दुई देशबीचको सम्बन्ध ‘अभूतपूर्व उच्च स्तर’ मा पुगेको बताएको बीबीसीले जनाएको छ । भेटवार्ता लगत्तै दुई प्रतिनिधिमण्डलले द्विपक्षीय वार्ता पनि गरेकाे बीबीसीले बताएकाे हाे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गरेको एक हप्ता नपुग्दै रुसी राष्ट्रपति पुटिन बेइजिङ पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पपछि चिनियाँ राष्ट्रपति जिनपिङसँगको शीर्ष वार्ताका लागि रुसी राष्ट्रपति पुटिन मंगलबार बेइजिङ पुग्नुभएको थियाे । बेइजिङमा रहँदा पुटिनले रुस र चीनबीच महत्त्वपूर्ण र संवेदनशील मुद्दाकाे बारेमा छलफल गर्ने क्रेमलिनले जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयले राष्ट्रपति पुटिनको भ्रमण द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन तथा विश्वमा व्यापक स्थिरता र सकारात्मक ऊर्जा प्रवाहको लागि भएको उल्लेख गरेको छ । राष्ट्रपति पुटिन बेइजिङ पुग्दा चिनियाँ विदेश मन्त्री वाङ यी र एउटा सैन्य टुकडीले स्वागत गरेको थियो । राष्ट्रपति पुटिनको यो २५औँ औपचारिक चीन भ्रमण हो ।

दुवै पक्षका अधिकारीले सी–पुटिन बैठकको क्रममा हुने छलफलको मुख्य विषयलाई सार्वजनिक घोषणा गरिसकेका छैनन् । तर यो भेटवार्तालाई विशेष गरी दुई देशको सम्बन्ध, युक्रेन युद्ध, ऊर्जा आपूर्ति शृङ्खला तथा विश्व राजनीति तीव्र रूपमा ध्रुवीकृत भइरहेको सन्दर्भमा अत्यन्तै अर्थपूर्ण रूपमा हेरिएकाे छ ।