Logo ५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026


रूसी राष्ट्रपति पुटिन नेतृत्वकाे जम्बाे टाेली आज चीन भ्रमणमा जाँदै

भ्रमणका क्रममा उच्चस्तरीय संयुक्त वक्तव्य र अधिकांश द्विपक्षीय दस्तावेजमा हस्ताक्षर गर्ने योजना

0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणबाट फर्किए लगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि बुधबार जम्बाे टाेलीकाे नेतृत्व गर्दै चीनको दुई दिने औपचारिक भ्रमणमा जानुहुने भएकाे छ।

राष्ट्रपति पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा बुधबार राजकीय भ्रमण गर्न लाग्नुभएको हो । यसअघि राष्ट्रपति ट्रम्पले यहि मे १३ देखि १५ तारिखसम्म चीनको भ्रमण गर्नुभएको थियो । करिब १ दशकपछि भएको अमेरिकी राष्ट्रपतिको चीन भ्रमण विश्वको नजरमा थियो । यसको ठिक ३ दिनपछि रुसी राष्ट्रपति पुटिन बेइजिङ पुग्नु हुने भएको हो ।

साेही भ्रमणमा राष्ट्रपति पुटिन र राष्ट्रपति जिनपिङले द्विपक्षीय सम्बन्ध, चीन-रुसबीचको व्यापक साझेदारी, रणनीतिक सहयोगलाई अझ गहिरो बनाउने तरिका, महत्त्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा विचार आदानप्रदान गर्ने चिनियाँ विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । दुई देशले उच्चस्तरीय संयुक्त वक्तव्य र अधिकांश द्विपक्षीय दस्तावेजहरूमा हस्ताक्षर गर्ने योजना बनाइरहेकाे उल्लेख गरिएकाे छ।

रुससँग चीनको गहिरिँदै गएको सम्बन्ध पश्चिमा देशहरूका लागि चिन्ताको विषय बनेको छ । विशेषगरी रुसले युक्रेनमा आक्रमण शुरू गरेदेखि दुई देश नजिकिएका हुन् । राष्ट्रपति जिनपिङ र राष्ट्रपति पुटिनबीच ४० भन्दा धेरै पटक भेटवार्ता भइसकेको बेलायती पत्रिका ‘द गार्जियन’ ले समाचार प्रकाशन गरेकाे छ।

सन् २०२२ यता चीन र रुसको द्विपक्षीय व्यापार कीर्तिमानी स्तरमा पुगेको छ । रुसको कूल निर्यातको एक चौथाइ भन्दा बढी हिस्सा चीनले ओगटेको हाे ।