एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगाे (डीआरसी) मा फैलिएको इबोलाको पछिल्लो प्रकोपका कारण मृत्यु हुनेकाे संख्या ८७ जना पुगेकाे छ ।
अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले यो प्रकोप ‘बुन्डिबुग्यो’ नामक प्रजातिका कारण फैलिएको जनाएकाे हाे । जसका लागि हालसम्म कुनै निश्चित खोप उपलब्ध नभएकाे समेत जनाइएकाे छ। अफ्रिका सीडीसीका महानिर्देशक जिन कासेयाले पूर्वी कंगाेको इटुरी प्रान्तमा हालसम्म ३ सय ३६ जनामा संक्रमण पुष्टि भएको बताउनुभयाे । सन् १९७६ यता कंगाेमा इबोला भाइरस देखिएको यो १७ औँ पटक हो ।
बुन्डिबुग्यो प्रजाति इतिहासमा तेस्रो पटक मात्र पहिचान गरिएको र यसको कुनै प्रमाणित खोप उपलब्ध नभएकाे उहँकाे भनाइ छ। कङ्गोका स्वास्थ्य मन्त्री रोजर काम्बाले इबाेलाका कारण मृत्युदर ५० प्रतिशतसम्म पुग्न सक्ने चेतावनी दिनुभएको छ । उहाँले यस प्रजातिका लक्षणहरू अन्य प्रजाति भन्दा केही फरक रहेकाे बताउनुभएकाे छ।
यसमा शुरुमा ज्वरो आउने र पछिल्लो चरणमा मात्र रक्तश्राव हुने लक्षण देखिन्छ । इबोला भाइरस अत्यधिक संक्रामक मानिन्छ, जसले उच्च ज्वरो, बान्ता, झाडापखाला र गम्भीर अवस्थामा शरीरका भित्री तथा बाहिरी अंगबाट रक्तश्राव गराउँदछ । विश्व स्वास्थ्य संगठनले यस भाइरसको प्रजाति अनुसार इबोलाको मृत्युदर फरक–फरक हुने जनाएकाे हाे ।










प्रतिक्रिया दिनुहोस्