Logo १ पुस २०८२, मंगलबार | Wed Dec 17 2025


नेपालको मौलिक पहिचान गुम्ने खतरा (भिडियो)


0
Shares

मीरा बस्नेत/उत्तम मानन्धर (इमेज)

काठमाडौं, असोज ११ । विश्वमा सांस्कृतिक सम्पदाको धनी मुलुककारुपमा नेपाललाई चिनिन्छ । तर, पछिल्लो समयमा निर्माण भइरहेका संरचनाले नेपालको पहिचान गुम्दै गएको छ ।

नेपाली मौलिक संस्कृतिको बेवास्ता गर्दै निर्माण भइरहेका संरचनाका कारण नेपालले आफ्नो पहिचान त गुमाउँदैछ नै ऐतिहासिक सम्पदाहरु पनि जोखिममा परेका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा, भगवान् गौतमबुद्धको जन्मस्थल, आफ्नै सांस्कृतिक पहिचान बोकेका सम्पदा, पुरातात्विक महत्वका मठमन्दिर अनि विभिन्न सांस्कृतिक चाडपर्व नेपालका पहिचान हुन् ।

नेपालका यिनै सांस्कृतिक सम्पदा र धरोहर अवलोकन र अध्ययन गर्न नेपालमा वर्सेनि लाखौं विदेशी पर्यटक आउने गरेका छन् ।

काठमाडौं उपत्यकामै ऐतिहासिक पहिचान बोकेका स्थलहरु धेरै छन् । यद्यपि, पछिल्लो समयमा यस्ता मौलिक र ऐतिहासिक सम्पदाहरु जोखिममा परेका छन् ।

त्यतिमात्र होइन, पछिल्लो समयमा निर्माण भइरहेका भौतिक संरचनाले नेपालका मौलिक संरचनाहरु भत्कँदै र लोप हुँदै गएका छन् । पुराना र परम्परागत घरहरु धेरै लोप भइरहेका छन् ।

मौलिकता संरक्षण नगरी धमाधम आधुनिक शैलीका भवन निर्माण हुनेक्रम जारी छ ।

विशेषगरी वि.सं. २०७२ सालको शक्तिशाली भूकम्पमा नेपालको मौलिकता भेटिने संरचना भत्किएका छन् ।

त्यसयता बनेका अधिकांश संरचना आधुनिक शैलीका भएकाले नेपाली मौलिकता भएका संरचना हराउँदै गएका हुन् ।

इतिहासविद् त्रिरत्न मान्नधर नयाँ संरचनाप्रति मानिसको चाह बढ्दै गएको र राज्यले पनि मौलिक संरचनामा चासो नदेखाएकाले कंक्रिटका घर बनाउने चलन बढेको बताउँछन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका पुराना र मौलिक बस्ती मासिँदै गएका छन् । ती ठाउँमा कंक्रिटको प्रयोग गरेर संरचनाहरु निर्माण हुँदा नेपालीको पहिचान गुम्दै गएको छ ।

नयाँ संरचनालाई पनि मौलिकता दिन सकिने ठाउँ भएपनि सरकारी नीति स्पस्ट नहुँदा समस्या बन्दै गएको बताउँछन्, इतिहासविद् मानन्धर ।

काठमाडौं उपत्यकामामात्र होइन, ग्रामीण क्षेत्रमा पनि भूकम्पपछि निर्माण गरिएका अधिकांश संरचनामा कंक्रिटको प्रयोग भएको छ । गाउँघरका बस्तीमा मौलिकखालका घर प्रायः लोप हुने अवस्थामा पुगेका छन् ।

भूकम्पपछि सहर–बजारमाजस्तै गाउँमा पनि परम्परागत शैलीका घर बनेका छैनन् ।

भिडियो हेर्नुहोस्