Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


कम्बोडिया र थाई सेनाको हवाई आक्रमणमा परी १२ जनाको मृत्यु


325
Shares

एजेन्सी। कम्बोडियाको रक्षा मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा थाई सेनाले कम्बोडियाको सार्वभौम क्षेत्रमा गहिरो प्रवेश गर्दै आफ्नो आक्रमणलाई चौथो सैन्य क्षेत्रमा थप विस्तार गरेको आरोप लगाएको छ।

मन्त्रालयका अनुसार थाई सेनाले उत्तरपश्चिमी सिम रीप प्रान्तमा हवाई आक्रमणलाई विस्तार गरेको हाे। थाई सेनाले एफ-१६ लडाकु विमान प्रयोग गरी सोमबार बिहान १० बजे स्थानीय समयमा विस्थापित नागरिक शिविर नजिकै दुई वटा बम खसालेको जनाइएको छ। थाईल्याण्डसँगको पछिल्लो सीमा द्वन्द्वमा आइतबार साँझ ६ बजेसम्म १२ जना कम्बोडियाली नागरिकको मृत्यु भएको र ७४ जना घाइते भएको कम्बोडियाको गृह मन्त्रालयका प्रवक्ता टच सोखाकले सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

यसैबीच, कम्बोडियामा विस्थापितहरूको संख्या ४ लाख ३ हजार नाघेको छ। जसमा करिब २ लाख ८ हजार महिला र ९६ हजार बालबालिका रहेका छन्। रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेताले आइतबार मध्यरातदेखि सोमबार बिहानसम्म थाई सेनाले कम्बोडियाली क्षेत्रका विभिन्न स्थानमा तोपका गोला प्रहार जारी राखेको बताउनुभयो।

कम्बोडिया-थाईल्याण्ड सीमा द्वन्द्व डिसेम्बर ७ तारिखदेखि पुनः शुरु भएको हो। दुवै पक्षले एक-अर्कालाई आक्रमण शुरु गरेको आरोप लगाएका छन्।