Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


पर्वतको आर्थर डाँडाखर्कमा विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण


0
Shares

पर्वत । पर्वतको कुस्मा नगरपालिका वडा नं. १४ आर्थर डाँडाखर्कमा रहेको पञ्चकोशी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

कुस्मा नगरपालिका वडा नं. १४ काहुँले घर भई हाल अमेरिकामा रहेका विद्यालयका पूर्व विद्यार्थी सुरज क्षेत्रीले आफ्‌ना स्वर्गीय पिता खिमबहादुर क्षेत्रीको स्मृतिमा उक्त सामाग्री वितरण गर्नुभएको हो । विद्यालयमा कक्षा एक देखि ११ सम्म अध्ययनरत सबै विद्यार्थीहरूलाई उक्त सामाग्री वितरण गर्नुभएको विद्यालयका प्रधानाध्यापक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

बुधवार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच दुई लाख २० हजार बराबरका सामाग्री सुरजकी आमा शशी क्षेत्रीद्वारा वितरण गरिएको प्र.अ सापकोटाले बताउनुभयो ।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न, दलित, तथा असहाय समुदायका बालबालिकालाई दैनिक पठनपाठनमा सहजता मिलोस् भन्ने उद्देश्यले प्रवासबाटै सहयोग गरेको सहयोगदाता क्षेत्रीले बताउनुभयो ।

गुरुङ समुदायको बाहुल्यता रहेको आर्थरडाँडाखर्क यो विद्यालयमा अन्य समुदायका विद्यार्थीहरूको संख्या उच्च रहेको छ । कार्यक्रममा विद्यालयले सहयोगदाता क्षेत्रीकी माता शशीलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान समेत गरेको थियो ।

विद्यालयमा अहिले एक सय ५० विद्यार्थी अध्ययनरत रहेका छन् । पोसाक सबै विद्यार्थीलाई वितरण गरिएको हो भने अन्य स्टेशनरी सामाग्री विपन्न परिवारका तीस जना विद्यार्थीलाई वितरण गरिएको थियो ।