एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई दिने चीन भ्रमण सम्पन्न भएको छ ।
बेइजिङमा दुई दिनको बैठकपछि राष्ट्रपति ट्रम्प शुक्रबार वाशिङ्गटन प्रस्थान गर्नुभएको बीबीसीले जनाएको हाे । उहाँले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आफ्नो वार्तालाई ‘अत्यन्त सफल, विश्वव्यापी रूपमा चर्चा भएको र अविस्मरणीय’ भनेर वर्णन गर्नुभएको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यमले राष्ट्रपति जिनपिङले यो भ्रमणलाई ‘ऐतिहासिक र कोशेढुङ्गा’ भएकाे बताउनुभएकाे जनाएकाे हाे । यद्यपि दुई देशबीच कुनै ठूलो व्यापार सम्झौता एवं नयाँ सम्झौताको घोषणा नभएकाे जनाइएकाे छ।
राष्ट्रपति ट्रम्पले यात्राका क्रममा सञ्चारमाध्यमसँग कुरा गर्न सक्ने र बैठकको बारेमा थप विवरणहरू खुल्न सक्ने खबरमा उल्लेख छ । दुई नेताहरूबीच व्यापार, तेल आपूर्ति, इरान युद्ध र ताइवान जस्ता मुद्दाहरूमा छलफल भएको थियो । यसअघि राष्ट्रपति ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति जिनपिङले इरानलाई सैन्य उपकरण नदिने प्रतिबद्धता जनाएको दावी गर्नुभएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले हर्मुज जलमार्गलाई फेरि खोल्ने बताएको जानकारी गराउनुभयाे । उहाँले चीनले अमेरिकाबाट तेल किन्न पनि सहमति जनाएको बताउनुभउकाे छ। यद्यपि अहिलेसम्म दुवै पक्षले वार्ताको नतिजा वा कुनै औपचारिक सम्झौताको बारेमा सीमित जानकारी मात्र साझा गरेका हुन् ।










प्रतिक्रिया दिनुहोस्