काठमाडाैं । यस वर्ष मनसुनजन्य विपदबाट २ लाख २६ हजार जनसंख्या प्रभावित हुने आँकलन गरिएको छ ।
विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले देशैभरि करिब ५१ हजार ८ सय ६८ घरधुरीका २ लाख २६ हजार ६ सय ६१ जनसङ्ख्या प्रभावित हुने आँकलन गरेको हो । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा सरदर भन्दा कम वर्षा र सरदर भन्दा बढी गर्मी हुने प्रक्षेपण गरिसकेको छ ।
यो अवस्थाले केही उच्च हिमाली भेगमा हिमताल विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो, डुबान, जमिन कटान तथा आकस्मिक बाढी जस्ता मनसुनजन्य विपद्को जोखिम हुने सम्भावना छ । विपत कार्यकारी समितिको बिहीबार बसेको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना स्वीकृत गरेको छ । बैठकले खोज तथा उद्धार टोली गठन तथा परिचालन सम्बन्धी मापदण्ड, २०८३ परिमार्जनसहित स्वीकृत गरेको हाे ।
जसले विपत् हुने बित्तिकै सरकारी संयन्त्रहरू स्वतः परिचालित हुने गरी कानूनी बाटो खोलेको प्राधिकरणले जनाएको छ । साथै, विपद्को समयमा गरिने अभ्यासलाई प्रभावकारी र एकरूपता दिन कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि, २०८३ पनि स्वीकृत भएको छ । बैठकले निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१ मा केही संशोधन गरेको हाे ।
त्यसै गरी, भूकम्पीय पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई तीव्रता दिन जिल्ला आयोजना कार्यान्वयन इकाईहरूमा २१ जना प्राविधिक जनशक्ति खटाउने निर्णय समेत भएको छ ।










प्रतिक्रिया दिनुहोस्