Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


मलेसियाको जनसंख्या ३ करोड ४४ लाख पुग्याे

जनसंख्या वृद्धिदरमा भने उल्लेख्य रूपमा कमी

13
Shares

एजेन्सी । मलेसियाको कूल जनसंख्या सन् २०२६ को पहिलो त्रैमासिकमा ३ करोड ४४ लाख पुगेको छ।

मलेसियाको तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेकाे पछिल्लो प्रतिवेदन अनुसार गत वर्षको सोही अवधिमा ३ करोड ४२ लाख रहेको जनसंख्यामा यस वर्ष भने सामान्य वृद्धि देखिएको जनाएकाे हाे । प्रतिवेदन अनुसार, जनसंख्या वृद्धिदरमा भने उल्लेख्य कमी आएको छ । गत वर्ष ० दशमलव ९ प्रतिशत रहेको वृद्धिदर यस वर्ष घटेर ० दशमलव ५ प्रतिशतमा सीमित भएको हाे ।

कूल जनसंख्यामा नागरिकहरूको हिस्सा ९० दशमलव १ प्रतिशत र गैर–नागरिकहरूको हिस्सा ९ दशमलव ९ प्रतिशत रहेको छ । जुन गत वर्षको तुलनामा स्थिर छ । लैङ्गिक आधारमा पुरुषको जनसंख्या १ करोड ७९ लाखबाट बढेर १ करोड ८० लाख पुगेको हाे । महिलाको संख्या भने १ करोड ६२ लाखबाट सामान्य वृद्धि भई १ करोड ६३ लाख पुगेको छ । उमेर संरचनाको विश्लेषण गर्दा, शुन्य देखि १४ वर्ष उमेर समूहको जनसङ्ख्या २१ दशमलव ८ प्रतिशतबाट घटेर २१ दशमलव ६ प्रतिशतमा झरेको हाे।

त्यस्तै, १५ देखि ६४ वर्षको कार्यशील उमेर समूहको हिस्सा ७० दशमलव ३ प्रतिशतबाट झिनो वृद्धि भई ७० दशमलव ४ प्रतिशत पुगेको छ । जातीय बनोटका आधारमा मले समुदायको हिस्सा ५८ दशमलव २ प्रतिशतबाट झिनो वृद्धि भई ५८ दशमलव ३ प्रतिशत पुगेको हाे। अन्य भूमिपुत्र र भारतीय समुदायको हिस्सा क्रमशः १२ दशमलव ३, ६ दशमलव ५ प्रतिशतमा यथावत रहँदा चिनियाँ मूलका नागरिकको हिस्सा भने २२ दशमलव २ प्रतिशतबाट घटेर २२ दशमलव १ प्रतिशतमा झरेको छ।

त्यसैगरी, सन् २०२६ को पहिलो त्रैमासिकमा जन्मदरमा ३ दशमलव १ प्रतिशतले गिरावट आई ९४ हजार ८ सय ७ कायम भएको हाे । सोही अवधिमा मृत्यु हुनेको सङ्ख्यामा पनि १ दशमलव५ प्रतिशतले कमी आई ४९ हजार १ सय ३९ पुगेको विभागले सार्वजनिक गरेकाे तथ्यांकले देखाएको छ ।