Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति जिनपिङबीच बेइजिङमा भेटवार्ता

वार्ता अत्यन्त सकारात्मक र फलदायी भएकाे राष्ट्रपति ट्रम्पकाे दावी

0
Shares

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार बेइजिङकाे द ग्रेट हल अफ द पिपलमा भेटवार्ता भएकाे छ ।

साेही भेटवार्ताका क्रममा इरानसँग आणविक हतियार हुन नहुने र हर्मुज जलमार्ग खुला रहनुपर्छ भन्ने कुरामा दुवै जना राष्ट्रप्रमुख सहमत भएका हुन् । राष्ट्रपति ट्रम्पको चीन भ्रमणका क्रममा दुई देशका राष्ट्रप्रमुख यो दुई विषयमा सहमत भएकाे ह्वाइट हाउसलाई उद्धृत गर्दै अरब न्युजले जनाएको छ ।

बेइजिङमा अमेरिकी समकक्षी ट्रम्पको सम्मानमा राजकीय भोज आयोजना गर्दै चिनियाँ राष्ट्रपति सीले अमेरिका–चीन सम्बन्धलाई विश्वको ‘सबै भन्दा महत्त्वपूर्ण’ भन्नुभएको बीबीसीले जनाएको हाे । चीन र अमेरिका द्विपक्षीय सम्बन्धलाई बिगार्न नहुने बताउँदै उहाँले दुई देश प्रतिद्वन्द्वी नभई साझेदार बन्नुपर्ने उल्लेख गर्नुभयो ।

त्यस्तै, अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीचको पहिलेको वार्तालाई ‘अत्यन्तै सकारात्मक’ भनेर प्रशंसा गर्नुभएको खबरमा उल्लेख छ । राष्ट्रपति ट्रम्पले चीनका राष्ट्रपति सीलाई ‘महान् नेता’ भनेर प्रशंसा समेत गर्नुभएको छ । यसअघि करिब २ घण्टा चलेको उच्चस्तरीय बैठकमा व्यापार, तेल र इरान युद्धका विषयमा छलफल भएको ह्वाइट हाउसले जनाएकाे हाे ।

यसैबीच चिनियाँ राष्ट्रपति सीले ताइवानको विषयलाई लिएर अमेरिकासँग द्वन्द्व हुन सक्ने चेतावनी समेत दिनुभएको छ । राष्ट्रपति सीले ताइवान मामिलाको व्यवस्थापन नमिले द्वन्द्व हुन सक्ने चेतावनी दिनुभएको हो ।