Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताकाे बारेमा छलफल जेठ ४ गतेदेखि हुने


0
Shares

काठमाडाैं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेद्वारा प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकमा प्रस्तुत गरेकाे आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफलका लागि यहि जेठ ४, ५ र ६ गतेका दिनहरू तोकिएको छ ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्तावमाथिको छलफलका लागि दलीय प्रतिनिधित्वका आधारमा ती दिनहरू ताेक्नुभएकाे हाे । सभामुख अर्यालले छलफलमा भाग लिने सदस्यले जेठ ४ गतेको बैठकको एक घण्टा अगाडि कार्यव्यवस्था परामर्श समितिमा बुझाउन समय दिनुभयाे ।

सभामुख अर्यालले उक्त छलफलको टिपोट गर्न अर्थ मन्त्रालय र सभाका सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभएकाे छ । सभाको बिहीबारको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहे पनि उक्त प्रस्ताव आजका लागि कार्यसूचीबाट हटाइएको छ।

प्रतिनिधिसभाको अर्को बैठक यहि जेठ ४ गते सोमबार बिहान ११ बजे बस्ने भएकाे सभामुख अर्यालले जानकारी गराउनुभयाे ।