काठमाडाैं । प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८३-०८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा विपक्षी दलहरूको अवरोधकाबीच उक्त नीति तथा कार्यक्रम पारित भएको हो । सभामुख डोलप्रसाद अर्यालले सदनको बैठकमा नीति तथा कार्यक्रम निर्णयार्थ प्रश्तुत गर्नुभएको थियो । सत्तापक्षीय सांसदहरूको बहुमत समर्थनसँगै सभामुखले नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्नुभयो ।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै सदन अवरुद्ध गरेका थिए । प्रधानमन्त्री शाह जवाफ दिन उपस्थित नभएको भन्दै नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।
अर्कोतर्फ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरूले बेल घेराउ र उभिएर विरोध प्रदर्शन जारी राखेका थिए । कांग्रेसको अवरोध र अन्य दलको बहिष्कारकाबीच सभामुख अर्यालले सदनको कारबाही अगाडि बढाउँदै बहुमतको आधारमा नीति तथा कार्यक्रम पारित गराउनुभएको हो । सरकारले प्रश्तुत गरेको यस नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षका प्राथमिकता र कार्ययोजनाहरू समेटिएका छन् ।
सदनबाट पारित भएसँगै अब सरकारलाई बजेट निर्माण र कार्यान्वयनको मार्ग प्रशस्त भएको छ ।










प्रतिक्रिया दिनुहोस्