Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


सरकारकाे नीति तथा कार्यक्रममाथिको छलफल ६ घण्टामै टुंग्याउनु संसदको अपमानः सांसद केसी


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई ६ घण्टामा सीमित गरिनु संसदको अपमान भएको बताउनुभएको छ ।

प्रतिनिधिसभामा बिहीबार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसद केसीले यस्तो बताउनुभएको हो । विगतमा नीति तथा कार्यक्रममाथि न्युनतम तीन दिनदेखि एक सातासम्म गम्भीर छलफल हुने गरेको बताउनुभयो । बहुमतको दम्भ देखाएर विपक्षी सांसदहरूको आवाज निस्तेज पार्न खोजिएको उहाँको आरोप छ । नीति तथा कार्यक्रमले राष्ट्रको वार्षिक राष्ट्रिय नीति, आर्थिक दिशा, सामाजिक तथा अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषय लिने भएकोले यसमा संसदमा गम्भीर छलफल आवश्यक हुने बताउनुभयो ।

उहाँले नीति तथा कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र साहको अनुपस्थितिप्रति असन्तुष्टी जनाउनुभएको छ । सांसद केसीले संसदलाई बहुमतको बलमा नभई विवेक र चेतनाबाट चलाउनुपर्ने बताउनुभयो । संसदको अपमान गरेर लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन नसकिने उहाँको तर्क छ ।

सांसद केसीले सरकारले ल्याएको नीति तथा कार्यक्रम सपना बेच्ने, यथार्थ थन्काउने र आशा–निराशाको दस्तावेज भएको बताउनुभयो । केही सकारात्मक कार्यक्रम भएपनि त्यसको स्पष्ट रणनीति र दिशा नदेखिएको उहाँको भनाइ छ ।