Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


रास्वपा उपनेता पराजुलीको दुई अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन


182
Shares

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा प्रयोग भएका असंसदीय र आपत्तिजनक शब्दहरू संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम १२१ को खण्ड (घ) बमोजिम सांसदहरूलाई आफ्नो अभिव्यक्तिमा संवेदनशील हुन ध्यानाकर्षण गराउनुभएकाे हाे। उक्त नियमावलीले बैठकमा बोल्दा अशिष्ट, अश्लील, अपमानजनक वा सार्वजनिक शिष्टाचार र नैतिकताको प्रतिकूल हुने गरी बोल्न निषेध गरेको छ ।

साथै, कुनैपनि व्यक्ति, जाति, धर्म, भाषा वा लिंगलाई होच्याउने वा असंसदीय शब्दको प्रयोग गर्न नपाइने प्रावधानकाे बारेमा उहाँले स्मरण गराउनुभयो । यसै क्रममा, सभामुख अर्यालले यहि वैशाख २९ गतेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपनेता गणेश पराजुलीले प्रयोग गर्नुभएका केही शब्दहरू नियमावली विपरित रहेको भन्दै हटाउन आदेश दिनुभएकाे छ।

सांसद पराजुलीले आफ्नो सम्बोधनका क्रममा प्रयोग गर्नुभएको ‘भरौटेहरू’ र ‘यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो गरी’ भन्ने वाक्यांशहरू संसदको गरिमा प्रतिकूल रहेको ठहर गर्दै सचिवालयलाई ती शब्दहरू अभिलेखबाट हटाउन निर्देशन दिइएको हो । सभामुख अर्यालले आगामी दिनमा आफ्ना धारणा राख्दा संसदीय मर्यादा र नियमावलीको पूर्ण पालना गर्न सम्पूर्ण सदस्यहरूलाई सचेत गराउनुभएको छ ।