Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


सभामुखलाई एमालेको प्रश्नः हाम्रो दलको नेता कुन शब्द असंदीय बोल्नुभयो ?


507
Shares

काठमाडाैं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापाले बोलेको कुन कुन शब्द असंसदीय हुन् भन्नेकुराको जानकारी दिन सभामुखसँग माग गरेको छ ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक ऐन महरले उक्त माग गर्नुभएको हो । सभामुख डोल प्रसाद अर्यालले एमाले संसदीय दलका नेता थापाले बोलेका शब्दहरु अर्मादीत र असंसदीय भएको भन्दै संसद सचिवालयलाई हटाउन निर्देशन दिनुभएको थियो ।

सचेतक महरले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले न्यायाधीशप्रति प्रयोग गरेका भरौटे र आसेपासे जस्ता शब्द पनि संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो । उहाँले प्रतिनिधिसभा नियमावलीको नियम २१ (घ) तथा नेपालको संविधानको धारा १०५ उल्लेख गर्दै अदालतमा विचाराधीन मुद्दा र न्यायाधीशको कार्यसम्पादनबारे संसदमा टिप्पणी गर्न नहुने तर्क गर्नुभयो ।

उहाँले रास्वपा कै सांसद रमेश प्रसाई प्रयोग गरेको नरसंहार जस्ता शब्द पनि असंसदीय भएको भन्दै रेकर्डबाट हटाउन माग गर्नुभयो । एमालेले सभामुखसँग रेकर्डबाट हटाइएको शब्दको जानकारी माग गरेपछि सभामुख अर्यालले एमाले नेता थापाले बोलेका ‘अराजकहरुको भीड, राष्ट्रिय झण्डा ओडेर देश जलाउनेहरु, नेपाली सेना मुकदर्शक’ भन्ने शब्दहरुको सभाको अभिलेखबाट हटाईएको जानकारी दिनुभयो । उहाँले उक्त शब्दहरु असंसदीय भएको बताउनुभयो ।

बुधवार बसेको बैठकमा एमाले संसदीय दलका नेता थापाले सम्बोधन गर्ने क्रममा उक्त शब्द प्रयोग गर्नुभएको थियो ।