काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय सम्मेलन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने निर्णय गरेको छ ।
पार्टी स्थापना दिवसको अवसर पारेर आयोजना गर्न लागिएको उक्त सम्मेलनको प्रस्ताव पार्टी सभापति रवि लामिछानेले बैठकमा राख्नुभएकाे हाे। बुधबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय अनुमोदन गरेको पार्टीका सचेतक प्रकाशचन्द्र परियारले बताउनुभयो ।
पार्टी सचेतक परियारका अनुसार सम्मेलन सम्पन्न गर्नका लागि पार्टीको मौजुदा केन्द्रीय समितिलाई नै ‘आयोजक समिति’ मा रूपान्तरण गरेको छ । आयोजक समितिको नेतृत्व पार्टी सभापति लामिछानेले नै गर्ने निर्णय भएको छ । सम्मेलनलाई भव्य र व्यवस्थित बनाउन विभिन्न उपसमितिहरू समेत गठन गरिएको हाे ।
जसमा प्रतिवेदन तथा प्रश्ताव मस्यौदा समिति, आर्थिक व्यवस्थापन समिति, प्रचारप्रसार समिति, सुरक्षा समिति, सूचना प्रविधि समिति, आवास तथा भोजन समिति, स्वास्थ्य तथा प्राथमिक उपचार समिति र साँस्कृतिक कार्यक्रम समिति रहेका छन् । त्यसैगरी अतिथि सत्कार समिति, विधान संशोधन समिति र निर्वाचन आयोगलाई पनि परिचालन गरिएको छ । संगठन विभाग भने पदेन रूपमा व्यवस्थापनमा रहनेछ ।
सचेतक परियारले ७७ वटै जिल्लाबाट करिब २ हजार ५ सय प्रतिनिधिको सहभागिता रहने अनुमान गरिएको जानकारी दिनुभयो । जिल्लाहरूसँगको समन्वयका लागि केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी तोक्ने प्रक्रिया अघि बढेको छ । राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा सातै प्रदेशमा विशेष प्रदेश अधिवेशन हुने कार्यतालिका समेत सार्वजनिक गरिएको हाे । जसअनुसार जेठ २६ गते बागमती, २७ गते कोशी, २८ गते मधेश, २९ गते गण्डकी, ३० गते लुम्बिनी, ३१ गते कर्णाली र असार १ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन तोकिएको छ ।
प्रतिनिधि छनोटका सन्दर्भमा, प्रवास नेपाली सम्पर्क विभागबाट न्युनतम ३ देखि ११ जनासम्म सहभागी हुने व्यवस्था गरिएको छ । पालिका अधिवेशन सम्पन्न नभएको खण्डमा हालका पालिका संयोजकहरू नै महाधिवेशन प्रतिनिधि हुने प्रावधान तय गरिएको हाे । साथै, रास्वपाको तर्फबाट निर्वाचित फेटा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् ।
पार्टीले यस सम्मेलनलाई प्रविधिमैत्री र डिजिटल माध्यमको अधिकतम प्रयोग गरी भव्य रूपमा सम्पन्न गर्ने लक्ष्य लिएको छ । सचेतक परियारले सत्ताधारी दलको रूपमा आफ्नो स्थापना दिवसकै दिन शुरु हुन लागेको साेही कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण जनशक्ति परिचालन गरिने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्