अक्कल कुँवर/दिलिप पोखरेल (इमेज)
काठमाडौं, असोज ११ । संघीय संसदको वर्षे अधिवेशन अन्त्य भएको छ ।
संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बिहीबारदेखि सकिएको हो ।
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसासद तिमिल्सिनाले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र वाचन गरी बिहीबार राति १२ बजेदेखि संसद स्वतः अन्त्य भएको जानकारी गराएका हुन् ।
गत वैशाख २३ गतेदेखि सुरु भएको संघीय संसदको बजेट अधिवेशन बिहीबार सकिएको हो । यो अवधिसम्म प्रतिनिधिसभाको बैठक १३५ दिन बस्यो ।
यो अवधिमा ८९ पटक बैठक बसी १९३ घन्टा संसदीय काम–कारबाही भएको सभामुख कृष्णबहादुर महराले जानकारी दिए ।
यो अवधिमा चारपटक गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक जम्मा ६ घन्टा ५० मिनेट बस्यो ।
वर्षे अधिवेशनको सबैभन्दा महत्वपूर्ण काम संविधानमा व्यवस्था गरिएका मौलिक हक कार्यान्वयनसम्बन्धी १६ ओटा र अन्य दुईओटा गरी १८ ओटा विधेयक पास गर्नु रह्यो ।
यस्तै, यस अवधिमा संसदले आफ्नो नियमावली बनाउने, नीति तथा कार्यक्रम पारित गर्ने, बजेट पारित गर्यो ।
यस्तै, अधिवेशनमा संसदीय समितिहरुको गठन र सभापति चयन भएका छन् ।
अधिवेशनको अवधिमा १३ दिन दुईओटा बैठक बस्यो भने एक दिन तीनओटा बैठक बस्यो ।
संसदले गरेका केही कामहरुप्रति भने आलोचना भएको छ । संसदले पर्याप्त छलफलबिनै मौलिक हक कार्यान्वयनसम्बन्धी विधेयक हतार–हतारमा पारित गरेको भन्दै आलोचना भयो ।
अधिवेशनभर प्रतिनिधिसभामा २६ ओटा विधेयक दर्ता भएकामा एउटा मन्त्रालयमा फिर्ता गरियो । ६ ओटा विधेयक सम्बन्धित समितिमा विचाराधीन छन् भने १८ ओटा विधेयक दुवै सदनबाट पारित भएका छन् ।
संसदको यो अधिवेशनबाट बहुचर्चित चिकित्सा शिक्षा विधेयक र नागरिकतासम्बन्धी विधेयक पारित हुन सकेन ।
सर्वाधिक चासोका विधेयकहरु पारित हुन नसक्दा संसदको चर्को आलोचना भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्