Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


घुससहित पक्राउ परेका सशस्त्र प्रहरी निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर


767
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

धनुषास्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश नक्टाझिजमा कार्यरत निरीक्षक अधिकारीले कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ्ग कार्यमा प्रयोग हुने सवारी साधन रोक्ने, फिल्डमा माटो तथा ग्राभेल झार्न नदिने तथा विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दु:ख हैरानी दिएको आरोप छ ।

अख्तियारका अनुसार उनले उक्त कार्य सहज बनाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा अधिकारीले सडक निर्माण आयोजनासम्बन्धी काममा प्रयोग हुने सवारी साधन सञ्चालनमा अवरोध सिर्जना गर्दै सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत बिगो ४० हजार रुपैयाँ कायम गरी सोही बराबर जरिवाना तथा कैद सजायको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।