काठमाडाैं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले सडक दुर्घटना न्युनिकरणका लागि ‘सडक सुरक्षा विधेयक’ संसदको चालु अधिवेशनभित्रै पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको मंगलवारको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । बैठकका निर्णयहरू सार्वजनिक गर्दै समितिका सभापति आशिष गजुरेलले सडक सुरक्षाका विषयमा गम्भीर बन्नुपर्ने अवस्था आएको बताउनु भयो ।
समितिले देशभरका राष्ट्रिय राजमार्ग लगायतका सम्पूर्ण सडकहरूलाई मनसुनको समयमा पनि सुरक्षित र सहज रूपमा सञ्चालन गर्न तत्काल मर्मत सम्भारको व्यवस्था मिलाउन समेत मन्त्रालयलाई सचेत गराएको छ । बैठकले राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे अध्ययन गर्न गठित उपसमितिको म्याद थप गर्ने निर्णय गरेको छ ।
माननीय श्रीराम न्यौपानेको संयोजकत्वमा गठित उक्त उपसमितिको आग्रह बमोजिम थप सात दिनको समय उपलब्ध गराउने प्रस्तावलाई बैठकले अनुमोदन गरेको हो । त्यस्तै, समितिको आन्तरिक कार्यविधि, कार्ययोजना र कार्यतालिकाको मस्यौदा तयार पार्न माननीय राजेन्द्रकुमार राईको संयोजकत्वमा गठित तीन सदस्यीय उपसमितिले पेश गरेको ‘आन्तरिक कार्यविधि २०८३’ लाई आवश्यक परिमार्जनसहित पारित गरिएको छ ।
सभापति गजुरेलले सडक सुरक्षा र यातायातको विषय नागरिकको दैनिक जीवन र सुरक्षासँग प्रत्यक्ष जोडिएको उल्लेख गर्नुभयो । छलफलका क्रममा सांसदहरूले राखेका सुझाव र अन्तर्राष्ट्रिय अभ्यासहरूलाई समेटेर विधेयकलाई थप परिष्कृत बनाइने र नागरिकको यात्रा सुरक्षित बनाउन समिति प्रतिवद्ध रहेको सभापति गजुरेलले बताउनु भयो ।










प्रतिक्रिया दिनुहोस्