Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


तत्कालीन गृहमन्त्रीमाथिको आरोप छानबिन गर्न सरकार किन हिचकिचाएको : भीष्मराज आङ्देम्बे


0
Shares

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको सुशासनको नारामाथि प्रश्न उठाउनुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता आङ्देम्बेले अरूलाई भ्रष्टाचारको आरोपमा लक्षित गर्ने तर आफ्नै तत्कालीन गृहमन्त्रीमाथि लागेका गम्भीर आरोपहरूको छानबिन नगरेको भन्दै सरकारको आलोचना गर्नुभएको हो ।

सम्बोधनका क्रममा उहाँले सरकारले सुशासनको दाबी गरे पनि व्यवहारमा त्यस्तो नदेखिएको तर्क गर्नुभयो । उहाँले तत्कालीन गृहमन्त्रीमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न सरकार किन हिचकिचाएको भनी जवाफ समेत माग गर्नुभएको छ । नेता आङ्देम्बेले सम्पत्ति छानबिनका लागि आयोग गठन गर्ने सरकारको निर्णयको भने स्वागत गर्नुभएको छ । तर विगतमा गठन गरिएका आयोगका प्रतिवेदनहरू कार्यान्वयनमा नआएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

विशेषगरी वि.सं. २०४७ देखि २०५९ सम्मको सम्पत्ति छानबिन गर्न गठित ‘लम्साल आयोग’को प्रतिवेदन हालसम्म कार्यान्वयन नहुनुको कारणबारे उहाँले प्रश्न उठाउनु भयो ।
उहाँले भन्नुभयो, ‘अरूलाई भ्रष्टाचारको एकहोरो आरोप लगाउने तर आफ्नै तत्कालीन गृहमन्त्रीमाथि लागेका संगिन आरोपहरूको कुनै छानबिन नगर्ने कस्तो सुशासन हो ? प्रतिवेदनहरू बनाउने तर पहिले जस्तै दराजमा थन्क्याउने हो भने अहिलेको प्रचारबाजीको कुनै अर्थ रहने छैन ।’
उहाँले पुराना प्रतिवेदनहरू कार्यान्वयन नगरेसम्म नयाँ आयोगहरूको प्रभावकारितामाथि प्रश्न उठिरहने उल्लेख गर्दै सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभयो ।