बिराज रोस्यारा (इमेज)
कैलाली, असोज ११ । धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दर्ता गरिएको छ ।
प्रदेश नम्बर–७ का २० जना सांसदहरुले बिहीबार मेयर वडविरुद्ध प्रशासनमा उजुरी दिएका हुन् ।
उनीहरुले मेयर वडका अभिव्यक्तिपछि आफूहरुको ज्यान जोखिममा परेको, अप्रिय घटना हुनसक्ने र शान्ति–सुरक्षामा खलल पुग्नसक्ने भएकाले वडलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।
प्रदेश–७ को स्थायी राजधानी गोदावरी बनाउन लागिएको भन्दै बुधबार धनगढीमा भएको प्रदर्शनकाक्रममा मेयर वडले धनगढीबाट राजधानी सारिए प्रदेशसभा भवनमा आगो लगाउने, प्रदेशसभा सदस्यले २४ घन्टाभित्र धनगढी छाड्नुपर्ने र सांसदलाई नै जलाउनेजस्ता विवादास्पद अभिव्यक्ति दिएका थिए ।
सांसदको उजुरी बुझ्दै प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले आवश्यक प्रक्रिया अगाडि बढाउने बताए ।
मेयर वडको उक्त अभिव्यक्तिको सर्वत्र आलोचना भइरहेको छ । उनले बिहीबारै एक विज्ञप्तिमार्फत् माफीसमेत मागिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्