Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


एकदिवसीय अभ्यास शृङ्खलामा नेपाल ‘ए’ काे ‘क्लिन स्वीप’

अमेरिका भने ७ रनले पराजित

0
Shares

काठमाडाैं । एकदिवसीय अभ्यास शृङ्खलामा नेपालको ‘ए’ टोलीले ‘क्लिन स्वीप’ गरेको छ ।

काठमाडाैंकाे माथिल्लो मूलपानी क्रिकेट मैदानमा साेमबार भएको चौथो तथा अन्तिम खेलमा नेपाल ‘ए’ ले अमेरिकालाई ७ रनले पराजित गरेकाे हाे । नेपाल ‘ए’ ले दिएको २ सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभर १ बलमा २ सय ५७ रन बनाउँदा सबै विकेट गुमायाे । अमेरिकाका शेहान जयसूर्याले ७१ रन बनाएका छन् । नेपाल ‘ए’ का शेर मल्लले ४ र बसिर अहमदले ३ विकेट लिएका छन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल ‘ए’ ले ४९ ओभर ५ बलमा २ सय ६४ रन बनाउँदा सबै विकेट गुमायो । नेपाल ‘ए’ का सन्दीप जोराले शतक बनाए । जोरा १ सय १५ बलमा १ सय ११ रन जोडेर आउट भए । अमेरिकाका सौरभ नेत्रभाल्करले ३ विकेट लिएका थिए । नेपाल ‘ए’ ले पहिलो खेलमा स्कटल्यान्डलाई ४५ रन, दोस्रो खेलमा अमेरिकालाई ३ विकेट र तेस्रो खेलमा स्कटल्यान्डलाई डीएलएस नियमका आधारमा ९ रनले पराजित गरेकाे थियो ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न नेपाल आएका अमेरिका र स्कटल्यान्डको टोलीसँग नेपाल ‘ए’ ले एकदिवसीय अभ्यास शृङ्खला खेलेको हो । यहि वैशाख २९ देखि आगामी जेठ ८ गतेसम्म कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा लिग–२ शृङ्खला शुरू हुने भएकाे छ।