Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


यातायात क्षेत्रलाई व्यवस्थित बनाउन गण्डकी प्रदेश प्रतिवद्धः मन्त्री नेपाली


143
Shares

काठमाडाैं । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपालीले यातायात क्षेत्रलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले यातायात क्षेत्रसँग जोडिएका सबै क्षेत्रको हकहित र संरक्षणमा मन्त्रालय सधैँ साथमा रहने बताउनुभएको हो । उहाँले आवश्यकताका आधारमा यातयात व्यवसायीहरुसंगको समन्वय र सहकार्यलाई प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिवद्धता समेत जनाउनु भयो ।

उहाँले यातायात क्षेत्रमा कार्यरत श्रमिक तथा व्यवसायीलाई आफ्नो कर्तव्यप्रति जिम्मेवार बन्न पनि आग्रह गर्नुभयो । यातयात क्षेत्र संवेदनशील क्षेत्र भएकोले सेवा प्रवाहमा अनुशासन र यात्रुको सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यो यातायात क्षेत्रलाई अझ व्यवस्थित गर्न, यसलाई अझ थप प्रविधि मैत्री बनाउन र योसँग जोडिएका मजदुरहरुको हकहितका काम गर्न मन्त्रालय सदैव तपाईंहरुको साथमा छ ।

यसको लागि आवश्यकता अनुसार समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने सन्दर्भमा म सधैं तपाईहरुको बीचमा छु । तपाईहरुले आफ्नो अधिकारको सन्दर्भमा जति सचेत हुनुहुन्छ, जुन संवेदनशील क्षेत्रमा काम गरिरहनुभएको छ, कर्तव्यका सन्दर्भमा पनि त्यति नै सचेत बन्नुहोस् ।’ उहाँले यातयात व्यवसायीहरुलाई एकजुट भएर काम गर्न पनि आग्रह गर्नुभयो । यातायात क्षेत्रको सुधारका लागि सरकार, व्यवसायी र श्रमिकबीच सहकार्य अपरिहार्य रहेको उहाँको भनाई छ ।