काठमाडौं, असोज ११ । संघीय संसदको बजेट अधिवेशनको अन्तिम दिन बिहीबार सत्तारुढ दलकै नेताहरुले सरकारका काम–काबाहीको चर्को आलोचना गरेका छन् ।
प्रतिनिधिसभाको वर्से अधिवेशनको अन्तिम बैठकमा सत्तारुढ दल नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नागरिकलाई शान्ति–सुरक्षाको प्रत्याभूति गर्न नसकेको भन्दै सरकारको आलोचना गरे ।
नेता नेपालले ‘बलात्कार, एसिड आक्रमणजस्ता घटना भइरहँदा पनि त्यसलाई रोक्ने र नियन्त्रण गर्ने अंग छ कि छैन ?’ भनी प्रश्न गरे ।
उनले सरकार सानातिना काममा अल्झिरहेको भन्दै जनताको अपेक्षाअनुसार भ्रष्टाचार नियन्त्रण, सुशासन र मुलुकको समृद्धिमा ध्यान दिन नसकेको आरोप लगाए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार शान्ति–सुरक्षा गर्न असफल हुनुका साथै संघीयता कमजोर पार्ने काममा लागिपरेको आरोप लगाए ।
उनले प्रतिपक्षी दलप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दिँदै आएका अभिव्यक्तिले मुठभेड निम्तिने चेतावनी दिए ।
यस्तै, राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले संविधान संशोधनतर्फ सरकार उदासीन देखिएको आरोप लगाउँदै मधेसी जनताको धैर्यको बाँध टुटे मुलुकमा धेरै कुरा टुट्ने चेतावनी दिए ।
उनले जनताबाट निर्वाचित रेशम चौधरीलाई सांसदको प्रमाणपत्र नदिएर सरकारले भेदभावको व्यवहार गरेको आरोप लगाए ।
संघीय समाजवादी फोरम नेपालका सांसद रामसहाय यादवले आदिवासी जनजाति, पिछडिएका वर्ग र मधेसी जनताको चाहनाअनुसार संविधान संशोधन हुनुपर्ने माग गरे ।









प्रतिक्रिया दिनुहोस्